भारतको राजस्थान राज्य सरकारले र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिबाट हुँदै आएको कोरोना परीक्षणमा रोक लगाएको छ।
राजस्थानका चिकित्सा मन्त्री रघु शर्माका अनुसार १६८ जनामा र्यापिड टेस्ट गरिएकोमा ९० प्रतिशत नतिजा सही आउने अपेक्षा थियो। तर, ४ देखि ५ प्रतिशत नतिजा मात्र सही आएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
र्यापिड टेस्टको नतिजामाथि प्रश्न उठेपछि राजस्थान सरकारले यो विधिबाट परीक्षण गर्न रोक लगाइएको उनले बताएका छन्।
साथै, राज्य सरकारले भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) लाई पत्र समेत लेखेको छ। मंगलबार नियमित पत्रकार सम्मेलनको आयोजना गर्द (आईसीएमआर) ले २ दिनका लागि र्यापिड टेस्टमा रोक लगाइएको घोषणा गरेको छ। यसबारे अध्ययन गरिनेछ।
भारतमा र्यापिड टेस्टबाट कोरोनाको परीक्षण गर्ने राजस्थान पहिलो राज्य हो।
राजस्थान सरकारले र्यापिड टेस्टमा रोक लगाउँदै आरटीपीसीआर टेस्टिङ किट्स पर्याप्त मात्रामा उपलब्ध गराइदिन केन्द्र सरकारसँग आग्रह गरेको छ।
नेपालमा पनि र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधि र पीसीआर विधिबाट काेराेनाकाे जाँच गरिँदै आएको छ। र्यापिड टेस्टबाट पोजेटिभ देखाएमा फेरि पीसीआर विधिबाट परीक्षण गरेर रिपोर्ट सार्वजनिक गरिँदै आएको छ। नेपालमा ¥यापिडबाट नेगेटिभ देखाएमा थप जाँज गरिँदैन।
तर, भारतको राजस्थानमा पीसीआरबाट कोरोना पोजेटिभ देखाएकालाई पनि र्यापिडबाट जाँच गर्दा नेगेटिभ देखाएको राज्य सरकारका चिकित्सा मन्त्रीले बताएका छन्। सवाइमानसिंह अस्पतालका विज्ञ चिकित्सकको एक टोलीले र्यापिड टेस्ट विधिबाट जाँच गरिएको रिपोर्टमा अध्ययन गर्दा ४ देखि ५ प्रतिशत नतिजामा मात्र मिलेको थियो।
नेपालमा र्यापिड टेस्ट कैलाली, कञ्चनपुर र बागलुङबाट थालिएको हो।



