उदयपुर, बैशाख १० । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा एकै परिवारका पाँच जना कोरोना भाइरसको (कोभिड–१९) संक्रमित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको कोरोना संक्रमित ११ जनामध्ये पाँच जना एकै परिवारको भएको पाइएको हो ।
अहिलेसम्म उदयपुरका २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । कोरोना संक्रमित हुनेमा एकै परिवारका ४१ वर्षीय पुरुष, उनका १८ वर्षीय छोरा, उनकी ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाइँ र १८ वर्षीय भाञ्जा रहेको सुरक्षा निकायले जनाएको छ । संक्रमितमध्ये १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमा उर्धु भाषा पढ्न गएका थिए । उनी लकडाउनभन्दा केही दिनअघि मात्र उत्तर प्रदेशबाट घर आएका थिए । यस्तै, बहिनी–ज्वाइँ गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका थिए । लकडाउनका कारण बजार बन्द भएपछि उनीहरु माइती घरमा बस्दै आएका छन ।
भारतबाट आएका भारतीय नागरिक (मुस्लिम धार्मिम गुरु) जमाती बसेको खबरपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १३ जनामा पुष्टि भएको थियो । त्यसपछि प्रदेश १ सरकारले ६९ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । उक्त संकलनमा आठ जना संक्रमित फेला परिसकेका छन् । आज थप तीन जनामा कोरोना पुष्टि भएको छ । नेपाली सेनाको छाउनी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले २ सय ५२ जनाको नमुना संकलन गरेको थियो । तीमध्ये तीजनामा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म २० जनाको रिपोर्ट आउन बाँकी छ ।
कहाँबाट फैलियो संक्रमण ?
भुल्केमा कहाँबाट कोराना भाइरसको संक्रमण फैलियो भन्ने कसैले यकिन गर्न कसैले सकेका छैनन । पहिलो पटक ११ भारतीय र एक नेपाली नागरिकमा कोरोना पुष्टि भएपछि झनै रहस्यमय बन्दै गएको छ । भुल्केका पहिलो संक्रमितहरु मुस्लिम धार्मिक गुरुहरुहबाट फैलियो कि वा अन्यबाट फैलिएको भन्ने पुष्टि हुन सकेको छैन । पहिलो पटक भेटिएका संक्रमितहरु गत मंसिरमा नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाई छ । चैत्र १ गते त्रियुगा नगरपालिका–२ मोथियाही मस्जिद आएका उनीहरु चैत ५ गते भुल्के आएको प्रहरीको भनाइ छ ।
दोस्रो पटक पुष्टि भएका ११ जना संक्रमितमध्ये तीनजना विदेशबाट फर्किएका पाइएको छ । तीमध्ये एक जना दुबईबाट फागुन ११ गतेमा आएको खुलेको छ । यस्तै, दुईमध्ये एक जना भारतको उत्तर प्रदेश र एकजना दिल्लीबाट आएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले यसबारे अनुसन्धान भइरहेको बताउँदै आउनु भएका छन ।
अहिले तीनै धार्मिक गुरुबाट कोरोना संक्रमण फैलिएको वा दुबईबाट आएकाबाट फैलिएको भन्नेमा प्रशासनको अनुसन्धान जारी रहेको बताएको छ । कोरोना संक्रमित भेटिएपछि पहिलो चरणमा मुस्लिम टोलका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । त्यसपछि टोल वरिपरीका घरका मानिसहरुको र दोस्रो चरणमा भुल्के गाउँका प्रत्येक घरबाट एकजनाको गरिएको छ ।
यसरी चुक्यो प्रशासन
सुरुमा कोरोना संक्रमित भेटिएका १३ जना, दुबई र भारतको उत्तर प्रदेशबाटबाट आएकाहरुलाई पनि प्रशासनले बेवास्ता गरेको पाइएको छ । उनीहरु उदयपुर कहिले आए भन्ने प्रशासन, हाल उपचार गराइरहेका संक्रमितहरुले चिकित्सकका टोलीलाई दिएको वयान र स्थानीय कुरो मिल्दैन । स्थानीय सरकार र प्रशासनले बेवास्ता गर्दा कोरोना संक्रमण फैलिएको अहिले स्थानीयको आरोप छ । कोरोना संक्रमित बढेपछि प्रदेश १ सरकारले मंगलवारबाटै उदयपुर सिल गर्ने निर्णय गरिसकेको छ । जनता समाचार बाट साभार गरिएको



