काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । एक जना धनुषाका वृद्ध र एक चिनियाँ महिला गरी थप दुई जनाको मृत्यु भएको हो ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुषको मंगलबार कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । खोकी, उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयाे ।
यसैगरी, पोखरामा काम गर्दै आएकी एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल पुर्याइएकाेमा कोरोना परीक्षणकाे रिपाेर्ट पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि शिक्षण अस्पताल लगिएकोमा बुधबार उनकाे निधन भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । जनता समाचार बाट साभार



