विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ ले कोरोना संक्रमित पत्रकारहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।
विराटनगरका थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पत्रकारको संख्या तीन पुगेको छ । महासंघका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले प्रदेशको स्वास्थ्यसमेतको जिम्मेवारी प्राप्त सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग पत्रकारलाई अलग्गै आइसोलेसनमा राख्ने प्रबन्ध गर्न र स्वास्थ्य उपचारको प्रबन्ध गरिदिन ध्यानाकर्षण गरेको बताए ।
अध्यक्ष लुइँटेलले भने,“अहिले कोभिड अस्पतालहरु भरिएको र पत्रकार संक्रमण समेत बढ्न थालेकोले उनीहरुलाई व्यवस्थापन गरिदिन औपचारिक रुपम आग्रह गरिएको हो ।”
स्थानीय उद्घोष दैनिकमा कार्यरत दुई जना पत्रकारलाई कोरोना संक्रमण देखिएको हो । पत्रिकाले शनिबारदेखि आफ्नो प्रकाशन बन्द गरेको हो । पत्रिकाका कर्मचारीमा रुघामर्कीको समस्या देखिएपछि अन्य पत्रकारहरुको स्वाब परीक्षण गराउँदा दुई जनामा कोरोना संक्रमण देखिएको हो । सहयोगीसहित उद्घोष दैनिकका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
दुबै जना पत्रकार निवासमै सेल्फ आइसोलेसनमा छन् । कुनै स्वास्थ्य समस्या नभएको र परिवारका सदस्यमा समेत समस्या नभएको बताइएको छ । विराटनगरका अर्का ४७ वर्षीय पत्रकार पनि सेल्फ आइलोलेसनमा घरमै छन् ।
पत्रकारलाई टेलिफोन गरी सामाजिक विकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुन मन्त्रीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बार्हखरी बाट साभार गरिएको



