रुपन्देही- कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ। बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो। शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो। अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ। शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। उनको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उनलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियो। रासस