दमक/ झापाको दमकमा यस अघि दुई दिन सम्म नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको ३५० भन्दा धेरै जनाको स्वावको आधिकारिक रिपोर्ट बाहिर आउन सकेको छैन ।

नगरपालिकाको स्वास्थ्य शाखा निरिक्षक बद्री बरालले नगरपालिका क्षेत्रबाट आफूहरुले संकलन गरेर पठाएको स्वावको रिपोर्ट अहिले सम्म प्राप्त नभएको बताए । उनले भने– हामीले यहाँबाट पठाएको नमुनाको रिपोर्ट अहिलेसम्म आएको छैन । आधिकारिक रिपोर्ट प्राप्त भइसकेको नभए पनि दमकमा पछिल्लो समय कोरोना पोजिटिभ देखिएकाहरुलाई सम्बन्धित निकायले जानकारी गराइसकेको छ । त्यस्तो संख्या कति हो भन्ने यकिन सार्वजनिक भएको छैन । संक्रमितहरु अधिकांश होम आइसोलेसनमा छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा यस अघिको तुलनामा ठुलो संख्यामा स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएको नतिजा दमकका लागि त्यति सुखद हुन नसक्ने अनुमान स्वास्थ्य क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुले नै गर्दै आएका छन ।

गत बिहिबार सम्ममा प्राप्त रिपोर्ट अनुसार नगरमा हाल सम्म १८९ जनामा कोरोना संक्रमण देखिइसकेको छ । ति मध्ये १५५ जनाले कोरोना जितेका छन भने एक संक्रमित महिलाले कोरोनासंग हारेर ज्यान गुमाइसकेकी छिन । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३३ रहेको जनाइएको छ । ति मध्ये २५ जना होम आइसोलेसनमै उपचाररत छन ।

संक्रमितहरु मध्ये नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधि छन । स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण सम्म कोरोनाबाट पीडित छन ।