
कर्णाली प्रदेशमा कोरोना संक्रमणको पहिचानका लागि एन्टिजेनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर बजारमा क्षेत्रमा एन्टिजेन विधिबाट कोरोना संक्रमणको परीक्षण थालिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं.६ मा एन्टिजेन विधिबाट परीक्षण शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतन वाग्लेले बताए । ‘हालसम्म ३५० वटा परीक्षण गरिएको छ ।’ उनले भने,‘त्यसमध्ये ५ वटामा पोजेटिभ रिर्पोट आएको छ ।’
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मा ३ हजार नमुना संकलन गर्ने लक्ष्य राखिएको प्रमुख वाग्लेले बताए । ‘जनघनत्व बढी भएका क्षेत्रमा एन्टिजेनमार्फत परीक्षण गर्ने मन्त्रालयको निर्देशन अनुसार सक्रिय संक्रमितको नजिकमा रहेकाको मात्रै परीक्षण गरिनेछ ।’ उनले भने,‘पिसिआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिन्छ । किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिन्छ ।’
पछिल्लो चरणमा नागरिकहरुले कोरोना परीक्षणमा खासै चासो नदेखाएको प्रमुख वाग्लेले बताए । ‘नागरिकहरुले पछिल्लो चरणमा कोरोना परीक्षण गर्न खासै वास्ता गरेका छैनन् ।’ उनले भने,‘अहिले कोरोना परीक्षण गर्न आउनेको संख्या पनि घट्दै गएको छ ।’