खोकी,थकान,घाँटी र मांसपेसी दुख्नेजस्ता लक्षण नयाँ प्रकारको कोरोनाभाइरस संक्रमितहरुमा धेरै सामान्य भएको अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस)को अध्ययनले देखाएको छ।बेलायतका ६हजार बढी कोरोना संक्रमितहरुमा गरिएको अनुसन्धानमा यस्तो नतिजा पाइएको हो।स्वाद र गन्ध थाहा नपाउने लक्षण नयाँ प्रकारको भाइरसबाट संक्रमित हुनेहरुमा कमै देखा पर्ने गरेको पाइएको छ।तर,यसलाई अझै पनि कोरोनाको प्रमुख लक्षण नै बताइएको छ।गएको सेप्टेम्बरमा पहिलोपटक फेला परेको कोरोनाभाइरसको नयाँ स्वरुप सुरुवाती भाइरसभन्दा अझ बढी सजिलो गरी र छिटो फैलन सक्छ । सोही कारण बेलायतभर संक्रमितको संख्या निरन्तर रुपमा बढिरहेको छ।लकडाउन जारी रहे पनि संक्रमण दर र मृत्युदर वृद्धि हुने क्रममै रहेको छ।कोरोनाको नयाँ प्रकार अझ खतरनाक हुन सक्नेमा केही प्रमाण फेला परेका छन्।तर,अझै यसबारे निश्चित भन्न सकिने अवस्था छैन।

बेलायतबाहेक दक्षिण अफ्रिका र ब्राजिलबाट पनि तुलनात्मक रुपमा सानो स्तरमा कोरोनाभाइरसको नयाँ रुप फैलिरहेको छ । भाइरसबाट पोजेटिभ हुनुभन्दा एक हप्ताअगाडि मानिसहरुमा के–कस्ता लक्षण बढी देखाएका थिए भन्नेबारे अनुसन्धान गरिएको र ती लक्षणलाई पुरानो कोरोनाभाइरससँग तुलना गरिएको छ।सबै सहभागीलाई नोभेम्बरको मध्यदेखि जनवरीको मध्यभित्रमा परीक्षण गरिएको थियो ।अनुसन्धानमा नयाँ प्रकारको कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये ३५ प्रतिशतमा खोकी, ३२ प्रतिशतमा थकान, २५ प्रतिशतमा मांसपेसी र जिउ दुख्ने, २१.८ प्रतिशतमा घाँटी दुख्ने समस्या देखिएको छ त्यस्तै, पुरानो कोरोनाभाइरस संक्रमित मानिसहरुमा चाहिँ यी लक्षण तुलनात्मक रुपमा कम देखिएको छ । २८ प्रतिशतमा खोकी, २९ प्रतिशतमा थकान, २१ प्रतिशतमा मांसपेसीको दुखाइ, १९ प्रतिशतमा घाँटी दुख्ने समस्या देखिएको हो ।

त्यसैगरी, नयाँ प्रकारको भाइरस हुनेहरुमा गन्ध र स्वाद थाहा पाउने क्षमता कम हुने लक्षण पुरानो भाइरसबाट संक्रमित हुनेको तुलनामा कम रहेको पनि पत्ता लागेको हो । श्वासप्रश्वासमा समस्या, झाडापखाला र बान्ता हुनेचाहिँ दुवैको संक्रमणमा उत्तिकै रहेको पाइएको छ।युनिभर्सिटी अफ वारविकका भाइरोलोजिस्ट प्रोफेसर लरेन्स योङले बताएअनुसार नयाँ प्रकारको भाइरसमा वुहानमा पहिलोपटक देखा परेको कोरोनाभाइरसको तुलनामा २३ परिवर्तन भएका छन् । उनले भने, “भाइरसका विभिन्न भागमा भएका यीमध्ये केही परिवर्तनहरुले शरीरको इम्युन प्रतिक्रियालाई प्रभाव पार्न सक्छ र संक्रमणसँग सम्बन्धित लक्षणका प्रकारलाई पनि प्रभावित गर्न सक्छ।”उनले अगाडि भने,“संक्रमित मानिसहरुले अझ धेरै मात्रामा भाइरस उत्पादन गर्न सक्ने हुँदा नतिजास्वरुप शरीरमा संक्रमण अझ बढी फैलने गर्दछ, जसले झन् धेरै खोकी लाग्ने, अझ बढी मांसपेसी दुख्ने अनि थकान हुने हुन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय