काठमाडौं, ६ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबको दुई साताभित्रै कोभिड–१९ विरुद्धको २० लाख डोज खोप नेपाल आइपुग्ने बताएका छन् ।आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इण्डियालाई रकम पठाइसकेको जानकारी दिए । सरकारले भारतबाट प्रतिखोप चार अमेरिकी डलरका दरले २० लाख डोज खोप ल्याउन लागेको हो । आउँदो जुन महिनासम्म सबै नागरिकलाई खोप दिइसक्ने सरकारको योजना छ ।
निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी
यसैबीच सरकारले निजी कम्पनीलाई पनि कोरोना खोप ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’ सरकारले ल्याएको खोप भने निःशुल्क नै हुने उनले बताए ।



