छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।झापा जिल्ला प्रशासनले खुला सीमासहित पूर्वी प्रवेशद्वार काँकडभिट्टा नाकामा थप कडाइ गरेको हो । भारतका आठ राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । भारतमा दैनिक ४० हजार बढी नयाँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेसँगै झापा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाकामा कडाइ गरेका छन् ।काँकडभिट्टा नाका हुँदै भारत पुगेर नेपाल फर्कने र भारततर्फ जाने सर्वसाधारणको आवतजावतमा कडाइ गरिएको छ ।  दैनिक करिब २ हजार सर्वसाधारण आवतजावत गर्ने काँकडभिट्टा नाकामै स्वास्थ्य परीक्षणका लागि ज्वरो नाप्ने, मास्क लगाएको वा नलगाएको जाँच गर्ने लगायतको काम थालिएको छ ।भारतमा संक्रमण बढेसँगै पूर्वी नाकाबाट दैनिक सयौं मानिस नेपाल भित्रन थालेका छन्  । उनीहरूबाट संक्रमण भित्रिने खतरा रहेकाले सीमा नाकामा कडाइ गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।झापाका अन्य नाका वर्ष दिनदेखि ठप्प भएपनि काँकडभिट्टा नाका केही समयअघिबाट आवतजावतलाई सहज बनाइएको थियो ।

भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै पुनः काँकडभिट्टा नाकामा प्रशासनले कडाइ गरेको हो । सीमामा तैनाथ सुरक्षाकर्मीले नाकामा पुनः सर्वसाधारणको विवरण संकलन गर्न थालेका छन् । मास्क नलगाएर लाइनमा आएकालाई प्रहरीले नाकाबाटै फर्काउन र सम्झाउन समेत थालेका छन् । यसअघि कोरोना संक्रमणलाई मध्यनजर गरी काँकडभिट्टामा भारतबाट आउने सर्वसाधारणका लागि होल्डिङ सेन्टर स्थापना गरिएको थियो । तर, अहिले त्यो हटाइएको छ । स्थानीय तहले बनाएका क्वारेन्टाइन सबै बन्द छन् । जसले गर्दा भारतबाट आएका सिधैँ घर जाने भएकाले समुदायमा संक्रमण फैलने सम्भावना बढेको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन सेन्टर झापाको बैठकले सबै स्थानीय तहलाई पुन: कोभिड अस्पताल र क्वारेन्टाइनको व्यवस्थापन गर्न आग्रह गरेको छ । त्यस्तै मास्क लगाएर र सेनिटाइजर बोकेर मात्र हिँड्न प्रशासनले आम नागरिकलाई आग्रह गरिसकेको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय