कञ्चनपुर, २५ चैत । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते स्वदेश फर्केका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए । ‘भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु’, उनले भने, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने छ। कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ। यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन ्। मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । रासस