काठमाण्डाै - आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने भएका छन् । यसअघि गएकाे २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।

यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।

चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।

यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।