मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएको छ।

अक्सिजन अभाव भएसँगै अस्पतालले बिरामीलाई अन्य जिल्ला रिफर गर्न थालेको छ। अस्पतालले आज विज्ञप्ति नै जारी गर्दै अस्पतालमा अक्सिजनको कमि भएको भन्दै बिरामीसँग क्षमा मागेको छ।

भर्ना भएका संक्रमितलाई ३ घण्टाका लागि मात्रै पुग्ने अक्सिजन रहेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेको हो। तर अहिले विभिन्न स्थानबाट सहयोग मागेर आज बेलुकासम्म पुग्ने अक्सिजनको जोहो गरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताए।

काफ्लेले हिजो बेलुकादेखि नै कतैबाट पनि अक्सिजनको व्यवस्थापन गर्न नसकिएको भन्दै अस्पताल भर्ना भएका बिरामीलाई अक्सिजन दिन सक्ने अवस्था नरहेको बताए।

‘हामीले नचाहँदा नचाहँदै यस्तो भन्न परिरहेको छ। हेटौंडामा अक्सिजन प्लान्ट छैन, हामी अन्य जिल्लाकै भर परिरहेको थियौं। हिजोदेखि उहाँहरूले पनि हात उठाएपछि हामीसँग विकल्प नभएको हो,’ काफ्लेले भने।

उनले बिरामीलाई अक्सिजनबिना अस्पतालमा राख्न पनि नसकिने र छोड्न पनि नसक्ने अवस्था भएकोले बागमती प्रदेशकै सिन्धुली जिल्लाको अस्पताल जान बिरामीलाई आग्रह गरिएको बताए।

​काफ्लेले भने,हामी आफैंले समन्वय गरेका छौं, उहाँहरूले १० जनासम्म बिरामी पठाउँदा हुन्छ भन्नुभएको छ। तर उहाँहरूले हामीसँग आवश्यक जनशक्ति छैन भन्नुभएकोले हामीले हाम्रो अस्पतालको जनशक्ति पनि पठाउने निधो गरेका छौं।’

काफ्लेको अनुसार अस्पतालले सिन्धुली अस्पताल जाने व्यवस्था मिलाइदिए पनि बिरामीहरू भने जान मानिरहेका छैनन्। हालसम्म २/३ जना बिरामीले मात्रै जान मानेका उनले बताए।

केही बिरामीका परिवारले आफ्नो बिरामी अन्यत्र लैजाने भन्दै हेलिकोप्टरसमेत बोलाएका उनले जानकारी दिए। हाल अस्पतालमा रहेका १७ वटा आइसियु , २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर गरी ५८ बेडमा नै बिरामी उपचाररत छन्। उनीहरू सबैलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था रहेको काफ्लेले बताए। उनीहरूलाई दैनिक २ सय ४० सिलिण्डर अक्सिजन आवश्यक रहेको पनि काफ्लेले जनाए।

बेड भरिएपछि कुर्सीमा राखेर उपचार

अस्पतालमा रहेका बेड पनि सबै कोरोना संक्रमितले भरिएका छन्। एक जना संक्रमितलाई इमर्जेन्सी वार्डमा कुर्सीमा राखेर अक्सिजन दिइएको ‍छ। कोरोना संक्रमितका लागि बनाइएका विभिन्न प्रकारका ५८ वटै बेड भरिएपछि अस्पतालले संक्रमितहरूलाई इमजेन्सी वार्डमा राखेर उपचार गराइरहेको छ। तर इमर्जेन्सी वार्डको पनि सबै बेड भरिएपछि एक बिरामीलाई कर्सीमा नै राखेर अक्सिजन दिइएको छ। बिरामीको अवस्था गम्भीर भएकोले कुर्सीमै राखेर भए पनि उपचार गराइएको त्यहाँ कार्यरत एक नर्सले जानकारी दिइन्।

निजी अस्पतालले पनि उपचार गर्न नसक्ने

हेटौंडामा रहेका निजी अस्पताल चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिडका बिरामी उपचार गर्न नसक्ने जानकारी गराएका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड संक्रमित संख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो।

दुई अस्पतालमा ३० बेडको एचडियू सेवा सहितको कोभिड उपचार गर्दै आइरहेको थियो। अक्सिजन सिलिण्डर आपूर्ति नभएकोले शुक्रबारबाटै उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

आज थप एक सय ९ जनामा कोरोना संक्रमण

मकवानपुरमा आज थप एक सय ९ जनामा संक्रमण पुष्टि भएको छ। १४३ जनाको स्वाब परीक्षण गर्दा ६ जना बालबालिकासहति १०९ जनामा कोरोना पुष्टि हो।

१३२ जनाको पिसिआरबाट परीक्षण गर्दा १०६ जना र ११ जनाको एन्टिजेनबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएका हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन्।

संक्रमण पुष्टि हुनेहरूमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्बर ५ का २३ जना छन्। त्यस्तै बकैया गाउँपालिकाको २ जना, मकवानपुरगढी गाउँपालिकाको ३ जना, कैलाश गाउँपालिकाको १ जिल्ला बाहिरका २ जनामा संक्रमण पुष्टि भएको हो।

पुष्टि हुनेमध्येमा ६ बालबालिका छन् भने २ जना ७५ वर्षमाथिका ज्येष्ठ नागरिक रहेका जनस्वास्थ्य निरीक्षक चौलागाईंले बताए।
-थाह्खाबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय