नेपालमा २१ लाख बढी नागरिक कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियान नेपालमा चरणबद्ध रुपमा जारी छ तर अझै दुई करोड २१ लाख तीन हजार पाँच सय ९८ नागरिक पूर्ण खोप लगाउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाएको छ।
हालसम्म खोप लगाउन योग्य जनसंख्या मध्ये एक चौथाइ जनसंख्याले मात्रै पूर्णखोप पाएका छन् । देशभर कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ४३ लाख ९६ हजार ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार १३ लाख ५० हजार नौ सय ६५ जनाले जोन्सन एण्ड जोन्सन, १९ लाख ४५ हजार नौ सय ८४ जनाले भेरोसिल र १० लाख ९९ हजार चार सय ५३ जनाले कोभिसिल्डको दोस्रो मात्रा पूर्ण खोप लगाएका छन् ।
पहिलो मात्रा खोप लगाउने व्यक्तिको संख्या ५३ लाख १७ हजार ४ सय ८३ रहेको छ। सरकारले कुल जनसंख्यामध्ये दुई करोड ६५ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने लक्ष्य लिएको छ । हाल नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा बनेको कोभिसिल्ड, जापानबाट अनुदानमा आएको एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ ।
फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, विदेश जाने नागरिक, विद्यार्थी ,जेष्ठ नागरिक,पत्रकार लगायतले खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा खोप अभियानलाई जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यो वर्षभित्र लक्षित समूह सबैलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । मनाङ जिल्ला कोरोना विरुद्धपूर्ण खोप लगाउने जिल्ला भइसकेको छ । नेपालमा केहिदिनयता संक्रमणदर घट्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमणदर १९.५ प्रतिशत रहेको छ ।



