भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।
यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन्।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो ।
नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर