कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि भित्रिसकेको अवस्थामा पूर्वी सीमा क्षेत्रमा यसको अनुगमन र निगरानी फितलो देखिएको छ । सरकारले सबै सीमा नाकामा नयाँ भेरियन्टको सम्भावित सङ्क्रमणप्रति सतर्क रहँदै पूर्व तयारीका लागि जुट्न निर्देशन दिइसकेको छ । तर विराटनगरको रानी नाकामा भने त्यसको तयारी फितलो देखिएको हो । सरकारले सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको एन्टिजेन परीक्षण सुरु गर्ने निर्णय गरेको भए पनि सोअनुसारको तयारी देखिएको छैन । सीमा नाकाबाट अहिले पनि बिना परीक्षण भारतीयहरू नेपाल प्रवेश गदै आएका छन् । उनीहरूको स्वास्थ्य परीक्षणको गर्ने तथ्याङ्क राख्ने समेतको काम हुन सकेको छैन । यसले सीमा नाकाबाट ओमिक्रोन’ सङ्क्रमित नेपाल प्रवेश गर्ने सम्भावना यसले बढाई दिँदा जोखिम पनि उतिकै बढाएको छ । विराटनगरको रानी नाकाबाट दैनिक सयौँ नेपाली किनमेलका लागि सीमापारको बजार जोगवनी पुग्ने गरेका छन् भने भारतीय पनि उपचार, आफन्त भेटघाटसँगै व्यापारका लागि नेपाल आउने गरेका छन् । केही दिन अघि मात्र मोरङ प्रशासनले पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रने नदिन सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेको थियो । तर स्थानीय प्रशासनको निर्णय समेत पूर्णरुपमा कार्यान्वयन भने हुन सकेको छैन । नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयहरूको सामान्य ज्वरो नाप्ने समेतको काम हुन सकेको छैन । कोरोनाको दोस्रो लहरदेखि विराटनगर महानगरपालिकाले सीमामा हेल्थ क्याम्प राखेर भारतबाट आउनेको कोरोना टेस्टका साथै तथ्याङ्क राख्ने काम गरिदैँ आएको थियो । सो हेल्थ क्याम्प अहिले पनि नाकामा रहे पनि नेपाल प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका मानिसको कुनै परीक्षण विना नै नेपाल प्रवेश गर्ने गरेका छन् । रानी हेल्थ क्याम्प विराटनगर सहायक इन्चार्ज सुरेन्द्र यादवले चिकित्सक सहितको टिम सिमाना नाकामा कार्यरत भए पनि भारतबाट नेपाल आउनेका लागि स्वास्थ्य परीक्षण अनिवार्य नगरिएकाले रानी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीयहरूले कोरोना परीक्षण गर्न नमान्दा समस्या भएको बताए ।
‘कोरोनासँगको मिल्दै जुल्दो लक्षण देखिएका मानिस पनि एन्टिजेन परीक्षण गर्न मान्दैनन्’यादवले भने,‘जबरजस्ती परीक्षण गर्न खोज्दा उल्टै हप्की दप्की गर्ने कुराको सामना हामीले गदै आएका छौँ।’सीमा नाकाबाट नेपाल प्रवेश गर्नका लागि अनिवार्य एन्टिजेन परीक्षणको मापदण्ड सरकारले नबनाएसम्म परीक्षणको कार्य प्रभावकारी नहुने यादवले बताए । उनले सरकारले नाका क्षेत्रमा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको एन्टिजेन परीक्षण सुरु गर्ने निर्णय गरे पनि पछिल्ला दिनमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयको एन्टिजेन परीक्षणको काम हुन नसेको समेत बताए । नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमणको दर उच्च गतिमा बढिरहेको भन्दै जनस्वास्थ्य विज्ञहरूले यसको रोकथाम र नियन्त्रणका लागि मुख्यतया स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न सुझाव दिँदै आएका छन् । जनस्वास्थ्य विज्ञ नवराज सुब्बाले नेपालमा समेत नयाँ भेरियन्ट ‘ओमिक्रोन’का सङ्क्रमित भेटिएका अवस्थामा सरकारले समयमै सीमानाकामा कडाइ नगरेको खण्डमा भविष्यमा स्थिति भयावह हुने चेतावनी दिए । ‘तीव्र गतिमा फैलिन सक्ने नयाँ भेरियन्ट‘ओमिक्रोन’को रोकथाम र नियन्त्रणका सरकारसहित सबै सचेत हुन जरुरी छ’सुब्बाले भने,‘अहिले हामी जसरी बे–फिक्री अवस्थामा हिँडिरहेका छौ,यसको मूल्य भोलिका दिनमा हामीले चुकाउनु पर्ने हुन सक्छ।’ मोरङ प्रशासनले जिल्ला गत बुधबार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठक बसी नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रने नदिन सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको एन्टिजेन परीक्षण सुरु गर्ने निर्णय गरेको थियो । बैठकले सबै स्थानीय तहहरूलाई कोरोना भाइरसको नयाँ भेरियन्टको सम्भावित सङ्क्रमण प्रति सतर्क रहँदै पूर्व तयारीका लागि जुट्न निर्देशनपनि दिएको छ ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भने सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित बनाउँदै आवश्यक स्वास्थ्य परीक्षण गर्ने लगायतका कामलाई कडाइका साथ लागु गरिने बताए ।उनले जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसी नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको एन्टिजेन परीक्षण सुरु गर्ने निर्णय गरिएकाले त्यसको पूर्ण पालना गराउन स्थानीय प्रशासन हर प्रयासमा जुट्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय