एजेन्सी– आफ्नो सुरुवाती दिनमा अनेक संघर्ष गरेकी बलिउड अभिनेत्री कंगना रनौटले तीन पटक नेसनल अवार्ड पनि जितिन् । तर, उनी बलिउडमा प्रतिभाको कुनै महत्व नरहेको बताउँछिन् ।

‘अब त म आत्तिइसकेको छु,’ उनले भनेकी छिन्, ‘म सुरुमा जब बलिउडमा आएँ, त्यति बेला मलाई लागेको थियो कि यहाँ प्रतिभाको कदर हुन्छ, आफूले आफैंलाई प्रमाणित गर्न पाइन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि आफूले निकै संघर्ष गरेको र अगाडि बढेको तर प्रतिभाको खास कुनै महत्त्व नभएको उनले बताएकी छिन् । ‘यो क्षेत्रमा प्रतिभाको कुनै महत्त्व रहेनछ,’ उनले भनेकी छिन् ।

उनले बलिउडमा सत्ताको राजनीति गर्ने र माफियातन्त्र हावी भएको दाबी गरेकी छिन् । यस्ता व्यक्तिले त्यहाँ अनेक जाल बुनेको पनि उनले बताएकी छिन् ।

समयसमयमा विवादमा घेरिने अभिनेत्री कंगना सन् २०१७ मा चर्चामा आइन् जब उनले फिल्म निर्मार्ता करण जौहरलाई असहिष्णु र भाइभतिजालाई प्रश्रय दिने आरोप लगाइन् ।

कंगनाले बलिउडमा रहेको नराम्रो सिस्टम तोड्न आफूले कडा कदम उचालेको पनि बताएकी छिन् ।