काठमाडौं / गायक दुर्गेश थापाले विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले उनलाई छाडेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परे पछि प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जनाएका छन् । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।
केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो । पुर्बेली न्यूज बाट साभार



