डा. बद्रीविशाल पोखरेल

केही समयदेखि नेपाली काङ्ग्रेसका युवा नेता  विश्वप्रकाश शर्मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीति प्रतिको चिन्ताले निक्कै व्याकुल  देखिन्छन् । यदाकदा ओली केन्द्रित लिखित र मौखिक विचार प्रवाह गर्ने विश्वप्रकाश शर्माको   ‘ओलीले किन छोड्नु भयो त्यो झापा’ शीर्षकको पत्रलेख प्रकाशित भएको छ । यस पत्रमा शर्माले  ओलीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनामा बालकोट,भक्तपुर जिल्लाबाट मतदान गरेको विषयलाई आधार बनाएको देखिन्छ । तेह्रथुम जन्मस्थान र झापा कर्मभूमि रहेका ओलीले मतदाता नामावली भक्तपुरमा स्थानान्तरण गरेर झापालाई माया मारेको, सुविधाभोगी भएको आदि विषय शर्माले उठान गरेर परोक्ष रुपमा ओलीसित झापा रुष्ट हुनसक्ने  चिन्ता जाहेर गरेको बुझिन्छ ।

यही प्रसंगमा विश्वप्रकाशले नेका सभापति शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले क्रमशः डडेल्धुरा र भरतपुरमा गई मतदान गरेको उच्च प्रशंसा गरेका छन् । मन नपरेको मानिसको सुगन्ध पनि ठुस्स गन्हाउँछ भनेझैँ ओलीले यस देशलाई गरेको हार्दिक तथा व्यावहारिक प्रेम,मायाँ र ममतालाई विश्वप्रकाशले पूरै नजरअन्दाज गरेको देखिन्छ । घरको मायाँ गर्ने अनि त्यही घरका लालाबालाको मायाँ नगर्ने कुरा कहीँ हुन्छ र ? देशको मायाँ गर्नेले त्यही देशको कुनै जिल्ला वा प्रदेशलाई मायाँ मार्न सक्छ ? समग्र राष्ट्रलाई आँखाको नानी सरह मायाँ गर्नेले त्यही देशको अमुक गाउँ,नगर र जिल्ला बिर्सन्छ ? नेपाल आमालाई मुटुसरह मायाँ गर्नेले आफ्नो जन्म स्थान र आफ्नै आमाप्रति उसले मायाँ मार्यो भन्दा कसले पत्याउँछ ?

आकाश जत्तिको फराकिलो छातीमा त समग्र विश्व अटाउँछ । सूर्यले सबैलाई उज्यालो प्रदान गर्छ । तर विश्वप्रकाशले मायाँको संकीर्ण दायरामा ओलीलाई सीमित गर्न खोजेको र यही विषयलाई राजनैतिक मुद्दा बनाउन खोजेको देखियो । कहिले काहिँ आफ्नै पार्टीका देश,जनता र जनजीविका हितका  मुद्दा नभएपछि विपक्षी पार्टी र नेतृत्वका अत्यन्त सतही र सस्ता मुद्दा उठाउनु पर्ने बाध्यता केही पार्टी र तिनका नेतालाई आइपर्छ । एमाले पार्टीलाई आफूले नै गरेका देश, जनता र जनजीविकाका मुद्दा भन्न भ्याइ नभ्याइ देखिन्छ । त्यसैले यस पार्टीले नेका पार्टीका र यसको नेतृत्वका सैद्धान्तिक तथा व्यावहारिक क्रियाकलापको मात्र विषय शिष्ट रुपमा उठाएको देखिन्छ ।

यस पार्टीलाई कहाँबाट कुन नेताले भोट दिन्छ, उसको ससुराली र मावली कहाँ छ र पर्छ ? भन्ने सित कुनै सरोकार नै हुँदैन । विगत कालमा कम्युनिष्ट पार्टी र विशेषतः एमाले विरुद्ध  नानावली अराजनीतिक तुच्छ प्रचारबाजी गरेर आम जनतालाई भ्रमित पार्न खोजिएको अहिले याद आयो । तर ती सबै अफबाह एमालेको पहिलो नौ महिने सरकार मार्फत् समाप्त भए  । अहिले फेरि एमाले मधेस र मधेसी विरोधी, खोक्रो,उग्र र सामन्ती राष्ट्रवादी  भनेर आम रुपमा दुष्प्रचार गरिएको देखिन्छ । यस फतुरबाजीलाई पनि एमाले पार्टी र  ओली नेतृत्वको नौमहिने  सरकारले फजुल सावित गरिदियो । यस सरकारले  मधेस र मधेसी आम श्रमजीवी जनताको हकहित र उत्थानमा २०७३,०७४ बजेट मार्फत् एमाले मधेस विरोधी हो भन्ने झुटलाई भुइंतहदेखि नै समाप्त पारिदियो । तथापि एमाले विरोधी अनेक फरेबी दुष्प्रचार गोयबल्स शैलीमा गर्न खोजिएको स्पष्ट हुन्छ ।

विश्वप्रकाशले पत्रलेखमा  शालीन र शिष्ट तथा मर्यादित भाषाशैलीमा ओली वा  एमाले विरोधी अन्तर्य व्यक्त गरेका छन् ।  माया पनि चेपारे, दोचारे र दोजिब्रे हुन्छ  । अक्सर चेपारे मायाँ गर्नेहरुको मायाँ नक्कली हुन्छ र यस्तो मायाँ गर्नेहरुले कसैको पनि भलो गर्दैनन् । तर वास्तविक र अन्तहृदयले मायाँ गर्नेहरुले मात्र आफ्नै लालबालाको सुन्दर भविष्य निर्माण गर्न र गराउन भरपूर सहयोग गर्छन् ।

देश,जनता र जनजीविका प्रति सच्चा मायाँ गर्नेहरु देखावटी मायाँ गर्दैनन् । तिनले  बोलीले मात्र होइन व्यवहारबाट नै मायाँ दर्साउँछन् । पार्टी नेता, सभासद्, मन्त्री र प्रधानमन्त्री हुँदा ओलीले झापा जिल्लाको उत्थान, विकास र समृद्धिका  लागि गरेका दर्जनौँ उदाहरण यहाँ उल्लेख गर्न सम्भव छैन । तर एउटा शिखर व्यक्तित्व अमुक गाउँ, शहर, क्षेत्र, समुदाय,प्रान्तमा मात्र सीमित हुन सक्तैन । एउटा समीको वृक्ष गमलामा मात्र कैद हुन सक्तैन । यहाँ त राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति बाहिर बाहिर अग्घोर प्रेम, मायाँ र ममता गर्छु भन्नेहरु नै यसको बर्खिलाफमा देखिन्छन् ।

नेपाली काङ्ग्रेकै कुरा गर्ने हो भने यस पार्टीले आफ्नो नेतृत्वमा नेपालको संविधानसभाबाट पारित भएको अहङ्कार गर्छ तर त्यही काङ्ग्रेस संविधान विरोधी मोर्चाको नेतृत्व गर्छ । अनि कांग्रेसको यस्तो चरित्रमाथि उठेको प्रश्नमा नाजवाफ भएपछि विश्वप्रकाशहरु फलानो किन फलानो गाउँ बस्दैन, फलानो किन ससुराली गएन टाइपको बेतुकको गन्ध चलाउन वाध्य हुन्छन् । विश्वप्रकाशसँग हिम्मत हुँदो हो त प्रधानन्यायाधीश माथि महाभियोग, आइजीपी काण्ड, राजदूत काण्ड, संविधान विरुद्ध ईयु र भारतको विज्ञप्तिमा कांग्रेसले साथ दिएको काण्ड र भारतीय नाकाबन्दीलाई कांग्रेसले समर्थन गरेको काण्डबारे मुख खोल्ने थिए । तर, त्यसमा कांग्रेसको अनुहार देखाउन लायक छैन । अनि केपी ओलीले किन फलानो गाउँमा भोट हाले, किन ससुराली गएनन् स्तरको राजनीतिको त्यान्द्रो समात्न विश्वप्रकाश शर्मा वाध्य छन् ।

संविधानको मायाँ गर्नु  नै देश,जनता र समाजवादको सच्चा मायाँ  हो तर नारा एउटा भट्याउने तर पार्टीले उक्त नारा विपरीत खालको व्यवहार देखाएको दुनियाँलाई थाहा  छ । संविधान लागू गरेर नेपालको संक्रमण काल छोट्याएर अगाडि बढ्न केही समय प्रमुख पार्टीहरुका बीच सहकार्य अपरिहार्य रहेको अवस्थालाई तोड्ने नेपाली काङ्ग्रेस नै  होइन र ? यसरी सहकार्य तोड्दा नेकाका अधिकांश नेताहरु दुखित तथा स्तब्ध भएको विश्वप्रकाशले बिर्सिएकै हुन् त ? भारतेली शासक प्रायोजित अत्यन्त अमानवीय नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने नेका पार्टीलाई कुन वादी भन्ने हो ? संविधानमा नेपाली भाषालाई कामकाजको भाषा, अङ्गे्रजीलाई अन्तराष्ट्रिय भाषा र प्रदेशहरुले त्यही प्रदेशमा बोलिने एक वा दुई भाषाहरु मैथिली, भोजपुरी, थारु,राई आदि भाषा छनोट गर्ने अधिकार दिएपछि भाषा विवाद उछाल्ने कुरा हिन्दीलाई  भाषा संशोधनका नाममा अहिले संविधानको अनसूचिमा राखेर भोलि त्यही हिन्दी भाषालाई मधेसमा कामकाजको भाषा बनाउने नेपाली काङ्ग्रेसको कपटपूर्ण क्रियाकलाप  होइन र ? संविधान लागू गर्ने ऐन मौकामा त्यस काममा सिन्को नभाँची संविधानतः निर्मित प्रदेशको सीमाङ्कनको बेमौसमी बाजा बजाएर अझ उल्टो उल्झन थपेर मुलुकको हित हुन्छ विश्वप्रकाशजी ?

स्थानीय तहमा जनतासँगै बस्ने प्रतिनिधिले माथिल्लो तहको संसदका सदस्य चुन्ने अधिकार कटौती गर्नेगरी ल्याइएको संविधान संशोधन प्रस्तावमा समर्थन नगरेको देखाएर एमालेलाई मधेस विरोधी भन्ने झुठो प्रचार किन गर्नुहुन्छ ? स्थानीय तहलाई संविधानले दिएको अधिकार खोसेर दलका अनिर्वाचित नेतामा फर्काउनुलाई जनताको माग पुष्टि गर्न सक्नुहुन्छ विश्वप्रकाशजी ? सक्नुहुन्न भने सिंहदरवारको गाउँमा भन्ने तपाईंको पार्टीको नारा झुठो हो, उल्टो हो, जनतामाथि कांग्रेसले गरेको ठगी हो ।

विश्वप्रकाश शर्माहरुको शब्दकोष नै आम मान्छेलेले प्रयोग गर्ने भन्दा बेग्लै छ कि भन्ने संशय उहाँले प्रयोग गरेका शब्दहरुबाट पैदा हुन्छ । प्रदेशका जनता हामी मिलेर बस्छौं भनेर लाखौंको जुलुश निकाल्छन् । जनताको त्यो आवाजको प्रतिनिधित्व गर्ने केपी ओली पहाड र तराई छुट्याउने रे । अनि मिलेर बस्छौं भन्ने जनतालाई छुट्एिरै बस्नु पर्छ भनेर बिखण्डनको बीऊ रोप्ने कांग्रेस चाहिँ जोड्ने रे । जोड्ने र फोड्ने बारेमा आम मान्छेले प्रयोग गर्ने भन्दा विपरित शब्दकोष विश्वप्रकाशहरु सँग छ ।

संविधान संशोधन मार्फत्  तराइमधेसको सीमाङ्कन हेरफेर गरेपछि अनि पहाडमा चाहिँ सीमा हेरफेरको मुद्दा उठ्तैन ? संघ प्रदेश बनिसकेपछि सीमा हेरफेर गर्दा त्यही संघ प्रदेशका जनताको भावनाको खुल्ला उल्लङ्घन गर्नु कुन  लोकतन्त्र हो  ? संविधानमा  नै अहिलेको रुपान्तरित संसद्ले सीमा हेरफेर गर्न मिल्दैन भनी किटान गरेको  विषयलाई सर्वोच्च अदालतले यस विषयमा मुद्दा परेपछि सर्वोच्चले फैसला मार्फत् संघीय शाषन व्यवस्थित भएर मात्र सीमाङ्कन संशोधन विषय उठान हुनसक्ने कुरा पुनः उल्लेख गरेको छ । अनि यस कुरालाई पनि छल्न सम्बन्धित धारा नै खारेज गर्न तम्सिने नेकालाई के भन्ने ? के यसरी संविधान प्रेमी भइन्छ ?

संविधानको सर्वोच्चता,विधिको शाषन र शक्तिपृथककीकरण सिद्धान्तको रट लगाउने नेपाली काङ्ग्रेसेको नियत र नियति लोकतान्त्रिक हो भन्ने कुनै ठाउँ छ ? प्रधानमन्त्री पुष्पकमल दाहाललाई मोहरा बनाएर प्रहरी महानिरीक्षक नवराज सिलबाल प्रकरणमा जे जस्ता जालीझेली र फरेबी  हरकत देखियो र सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दुराग्रहपूर्ण महाभियोगको जुन जिकीर नेकाले  गर्यो, के  यसले देश र दुनियाँलाई हँसाएन र ? तैपनि नेका सच्चा लोकतन्त्रवादी र विधिको शासन पक्षधर ? लोकमान सिंह कार्की चरम भ्रष्टाचारमा चुर्लुमम्म डुबेको प्रमाणित भए  पनि नेपाली काङ्ग्रेसले  कार्कीलाई संसद्बाट महाअभियोग लगाउन आलटाल गरिरह्यो  र आखिरमा यसलाई नेकाले टार्यो के यही हो नेकाको सदाचार प्रेम ? अन्तिममा सर्वोच्च अदालतले लोकमान प्रकरणमा निर्णय दिएर कांग्रेसको लाज बचाइदियो ।

काङ्ग्रेसले आफ्नै पार्टी र नेतृत्वका कमी कमजोरी सच्याएर यसमा नै केन्द्रित लेख रचनाहरु लेखेर जननायक बीपी कोइरालाको मार्गमा पार्टीलाई अगाडि बढाउनु चाहिँ धेरै जाती होला । यस लेखकले हेर्दा नेकामा कहिल्यै पनि नदेखिएको संकट हाल देखिन्छ । २०१५ सालमा संसदमा दुईतिहाइ ल्याएको नेकाले आखिर २००७ सालमा ल्याएको प्रजातन्त्र बचाउन सकेन । नेकपाले त्यस बेला राखेको विघटित संसद् पुनस्र्थापना प्रस्ताव  नेकाले सुनेन , अनि पञ्चयत विरोधी संयुक्त जनआन्दोलन प्रस्ताव पनि  तीसौँ वर्षपछि मात्र गणेशमान सिंहको जोडबलमा मात्र सफल हुनसक्यो । २०४६ सालपछि बारबार नेकाको एकमना सरकार बनेकै हो । अनि आफ्नू पार्टीको बहुमतको संसद् आफैँ तानातान गरी नेकाले नै गिराएको  होइन ? पार्टीकै सरकारको नेतृत्वका बेला मित्रराष्ट्रहरुले उपहार स्वरुप प्रदान गरेका उद्योगहरु निजीकरणका नाममा माटोका भाउमा  बेचेको विश्वप्रकाशले यति छिटै बिर्सिएको हो ? यति गर्दा पनि नेका पार्टीले आफूलाई मजदुर मैत्री र जनमैत्री भन्न सुहाउँछ ? अरुका आङको जुम्रा नकेलाउँ आफ्नै आङको भैसी खेदाउँ विश्वप्रकाशजी ! व्यर्थमा ओलीको चिन्तामा व्याकुल नबन्नुस् ।

चक्रपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah