दमक — दमक आदर्श बोर्डिङ्ग स्कूल अहिले पूर्वी नेपालको उदीयमान शैक्षिक गन्तव्यका रूपमा चिनिन थालेको छ । आधुनिक शिक्षा, व्यवहारिक सिकाइ र समयानुकूल प्राविधिक विषयको अध्ययनलाई प्राथमिकता दिँदै आएको यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको पाइएको छ । विशेषगरी प्लस टु अन्तर्गत सञ्चालन भईरहेको होटल म्यानेजमेन्ट सिटिईभिटी लेभल–२ कार्यक्रममा अहिले धमाधम विद्यार्थी भर्ना भइरहेका छन् ।
झापाको दमक नगरपालिका वडा नम्बर ८ मा अवस्थित यस विद्यालयले गुणस्तरीय शिक्षा मात्र नभई व्यवहारिक सीप विकासलाई पनि केन्द्रमा राख्दै शैक्षिक क्षेत्रमै फरक पहिचान बनाउँन सफल भएको स्थानीय अभिभावकहरूको भनाइ छ । अध्ययनसँगै रोजगारी र आत्मनिर्भरताको सम्भावना बोकेको होटल म्यानेजमेन्ट विषयप्रति विद्यार्थीको आकर्षण बढिरहेका बेला दमक आदर्श बोर्डिङ्ग स्कूल त्यसको प्रमुख रोजाइ बन्न थालेको देखिन्छ ।
विद्यालयमा रहेका आधुनिक प्रयोगशाला, व्यवस्थित कक्षा कोठा, प्राविधिक अभ्यासका लागि आवश्यक सामग्री तथा दक्ष शिक्षकको व्यवस्थाले विद्यार्थीलाई थप सहज बनाएको छ । विद्यालय परिसरमा अध्ययन गर्ने वातावरण, अनुशासन र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिइएको विद्यालय प्रशासनको दाबी छ ।
यस विद्यालय युनिक कलेज अन्तर्गत सञ्चालन हुँदै आएको हो । युनिक कलेजका अध्यक्ष रोमनाथ भण्डारीले विद्यालयलाई अझ आधुनिक र प्रतिस्पर्धी बनाउँन थप सेवा तथा सुविधा विस्तार गर्दै लगिने बताउनुभयो । उहाँका अनुसार अहिलेको समयको मागअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिईएको छ ।
“विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षा मात्र होइन, व्यवहारिक र रोजगारमुखी शिक्षा दिनुपर्छ भन्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यसका लागि विद्यालयमा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र आधुनिक शैक्षिक वातावरण निर्माण गरिरहेका छौँ ।”
मातृ संस्था युनिक कलेज भए पनि यस अन्तर्गत विभिन्न तह र विधाका अध्ययन कार्यक्रम सञ्चालन भइरहेका छन् । शिक्षा क्षेत्रमा एकीकृत शैक्षिक प्रणालीको अवधारणासहित अघि बढिरहेको संस्थाले विद्यालय तहदेखि उच्च शिक्षासम्मका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यहा बिज्ञान र व्यवस्थापन संकायमा पनि बिद्यार्थीको आकर्षण रहेको उहाले बताउनुभयो ।
यसैबीच युनिभर्सल कलेजमा अहिले बिएचएम Bachelor in Hotel Management र बिआईटिएम Bachelor in Information Technology Management का कक्षाहरू सञ्चालनमा रहेका छन् । युनिभर्सल कलेजका अध्यक्ष टेकनाथ भण्डारी का अनुसार विद्यार्थीको रुचि र बजारको आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक तथा व्यवस्थापन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।
उहाँले भन्नुभयो, “आजको शिक्षा केवल प्रमाणपत्रका लागि मात्र होइन, दक्षता र करियर निर्माणका लागि हुनुपर्छ । त्यसैले हामी विद्यार्थीलाई व्यवहारिक, प्रतिस्पर्धी र प्रविधिमैत्री शिक्षा दिन प्रतिबद्ध छौँ ।”
दमक क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढिरहेको यस संस्थाले पछिल्लो समय पूर्वका विभिन्न जिल्लाबाट समेत विद्यार्थी आकर्षित गर्न थालेको छ । विद्यालय तथा कलेजको समग्र शैक्षिक वातावरण, आधुनिक पूर्वाधार र रोजगारमुखी कार्यक्रमकै कारण अभिभावक तथा विद्यार्थीको विश्वास बढ्दै गएको देखिन्छ ।
शिक्षाको बदलिँदो स्वरूपसँगै दमक आदर्श बोर्डिङ्ग स्कूलले पनि आफूलाई समयअनुकूल ढंगले विस्तार गरिरहेको छ । प्राविधिक शिक्षा, दक्ष जनशक्ति उत्पादन र व्यवहारिक सिकाइमा केन्द्रित यस संस्थाले आगामी दिनमा अझ प्रभावशाली शैक्षिक केन्द्रका रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।



