नयाँदिल्ली- बंगालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा १२ किलोमिटरको गतिमा पश्चिमतर्फ सरेको छ।

बुधबार बिहान ५ः४५ बजे उक्त मौसमी प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा रहेको भारतीय मौसम विभागले जनाएको छ।


भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै कलिङ्गपट्टनमनजिकबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।

समुद्रमाथि बन्ने न्यून चापीय मौसमी प्रणालीको शक्तिशाली चरणलाई ‘डीप डिप्रेसन’ भनिन्छ। यससँगै तीव्र हावा र भारी वर्षा हुने सम्भावना रहन्छ।


यसको प्रभावका कारण मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी जारी गरिएको छ। यस्तै, बिहारका सबै क्षेत्रमा वर्षाको सम्भावना रहेको भन्दै राज्यका ३८ वटै जिल्लामा ‘यलो अलर्ट’ जारी गरिएको छ।

उता, राजस्थानमा वर्षा रोकिएसँगै तापक्रम बढेको छ। जैसलमेरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस तथा बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। सेप्टेम्बरमै मे महिनाजस्तै गर्मी महसुस भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम सुख्खा रहने र तापक्रम थप बढ्ने सम्भावना छ।