चितवन । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ।

चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ। धादिङ खण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन्। निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढेपछि उक्त क्षेत्रमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ।


त्यस्तै, इच्छाकामना गाउँपालिका–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोमा लगातार ढुंगा खसिरहेकाले सडकबाट पहिरो पन्छाउनसमेत समस्या भइरहेको छ।



सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ। तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी