एक दशकअघिसम्म मुलुक शसस्त्र द्धन्द्धमा थियो । जताततै हत्या, हिंसा र आतंक व्याप्त थियो । विद्रोहीहरुको ज्यादती र राज्यको ज्यादती उस्तै देखिन्थ्यो । जनताहरु दुवैतिरको मारमा थिए । माओवादीहरुले सञ्चालन गरेको शसस्त्र युद्धका कारण धेरैको घर उठिबास भएको थियो ।
त्यस्तै,घटनामध्ये चितवनको बाँदरमुढे घटनालाई लिन सकिन्छ । त्यहाँ माओवादीहरुले थापेको एम्बुसमा परेर दर्जनौ सर्वसाधारणले ज्यान गुमाएका थिए । एउटा कलिलो बालकदेखि जवान र बृद्धबृद्धाले समेत ज्यान गुमाएको त्यो घटना, जसले बेला बेलामा सम्पूर्ण नेपाल र नेपालीहरुलाई झस्काइरहन्छ ।
सडकमा थापिएको धरापमा परेर यात्रुबाहक बसलाई नै ध्वस्त पारिएको र दर्जनौ जनता मारिएको त्यो दिनलाई नेपालको इतिहासमै कालो दिनका रुपमा लिइदै आएको छ । सोही घटनामा परेकी एक निर्दोष आमा, जसले यो संसारबाट विदा लिएकी थिइन् र उनको काखमा रमाइरहेको दुई वर्षको बालक पनि सो घटनामा मारिएका थिए ।
उनकै छोरा मेघनाथ तिवारीले मृत आमाको नाममा कारुणिक पत्र लेखेका छन्,जुन पत्रले लाखौं नेपालीहरुको आँखाबाट आँसु झारिदिन्छ ।
यो पत्र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत अध्ययन गरे, के प्रतिक्रिया दिँदा हुन् ? सर्वसाधारणले मात्र होइन, भरतपुरमा भोटको राजनीतिक गरेर जसरी पनि चुनाव जित्ने रणनीतिमा लागेका प्रचण्ड र उनको पार्टीका नेता कार्यकर्ताले समेत यो पत्र अध्ययन गर्न जरुरी छ । त्यसैले हामीले यो पटक यस मन छुने पत्रलाई यहाँ समावेश गरेका छौ ।
प्रिय आमा,
सेवा ढोग
म तपाईकै पाउमा मेरो सिङो शिर चढाएर ढोग गर्न चाहान्थे । तर, तपाईको भौतिक शरिर म सँग छैन । हाम्रो परीवारसँग छैन । हाम्रो खुसी चुँडेर लग्यो । आमा आज १२ बर्ष बिताइसकेछु तपाई विना । तपाईलाई गुमाउँदाको स्मरण म भित्र थोरै बाँकी छ । कारण म सानो थिए । तपाईले जन्माएको हुर्काएर, तेल लगाएर बढाएको, माया गरेर कहि कतै लड्छ की भनेर जोगाउने तपाई बिना म र मेरो बाबाले कसरी दिन बिताइरहेका हौला । तपाई त छाडेर जानु भयो तर हामी बाच्नेहरूलाई कति पिडा भैरहेको होला ।
तपाईको न्यानो काखबाट सदाका लागी फालिएको म, आज ठुलो भैसके । तपाईले माया गरेर दुध चुसाउनु भएका ओठहरु माथि जुगाका रेखिहरू बस्न थाले । म मा परीवर्तनहरु आए । तर तपाईले देख्न पाउनु भएन । एउटा सानो सुखी परीवारको खुसिलाई च्यात्ने छिन्न भिन्न बनाउने त्यो कहालिलाग्दो दिन आजै हो आमा । म संम्झन सकिरहेको छैन् ।
आमा भन्ने शब्द कति प्यारो हुँदो रहेछ । कति आत्मिय हँुदो रहेछ । आमा भनेको सबै थोक हो जीबनको उर्जा हो । खुसी हो अनि ममता र स्याहार पनि हो । आज यि सवैथोक चुडालेर दैबले मलाई टुहुरो बनायो । बाबालाई एक्लो बनायो । अरुले आफ्ना आमालाई आमा भनेको सुन्दा म पटक पटक मरेर बाँचिरहेको हुन्छु ।
अरुले आमाका बारेमा बयान गरीरहदा म आँखा भरी आँशुहरु छचल्काएर, रुमालले पुछेर हिडीरहेको हुन्छ । के तपाईले देख्नुहुन्छ आमा ? मेरो छोरोको के अबस्था छ भनेर ? तपाईको ममताको राम्रो अनुभुति पनि गर्न नपाउदै कहिल्यै भेट नहुने गरी बाबाको काखमा मलाई जिम्मा लगाएर मेरो प्यारो भाईलाई समेत लिएर जानु भयो । मेरो जीवनको एउटा अबिश्मरणीय घटना । यो कालो दिन आज पनि आयो ।
म चाहेर पनि भुल्न सक्दिन् नचहारेर पनि बिर्सन । आज भन्दा ९ बर्ष अघि आजकै दिन तपाईले मलाई के भन्नु भएको थियो थाहा छ हजुरलाई ? बाबु म मामा घरबाट फर्कदा धेरै सेल रोटी, बिस्कुट र चाउचाउ ल्याइदिन्छु । नरोइकन, बाबालाई दुःख नदिईकन स्कुल जाउ भनेर मामाघर जानु भएको होइन् ? खै त तपाई फर्कनुभएको ? हस् चाडै फर्कि आउनु है । नत्र म स्कुल नै जान्न भनेर घुर्कि लगाउदै बाई बाई मम्मी भनेको यो दिन म कसरी बिर्सू ? म कसरी बिर्सू ? मैले हजुरलाई सधैका लागी हात हल्लाएको थिइन मम्मी ? हजुरलाई सधैको लागी बाई बाई भनेको थिइन्, तर तपाई किन फर्कनु भएन् ? किन आउनु भएन ? म भरखरै स्कुल पुगेको मात्र थिए । एउटा ठुलो आवाज आयो । हो हल्ला भयो । तछाड मछाड गदै मानिसहरु त्यसतर्फ दौडिए । तर म घर तिर आएँ । मलाई के थाहा यो पड्किएको बमसगै मैले मलाई जन्मदिने आमा र भाई अनि ठुलि आमा गुमाइसकेको छु भन्ने कुरा । म त अबोध थिए । जब रात ढल्दै गयो, घाम डाँडा माथि पुग्न थाल्यो ।
म मम्मी आउने बाटो तर्फ आफ्ना आखाहरु थाक्ने गरी हेरीरहे तर, मम्मि आउनु भएन । आएन मेरो सानो पुन्टे भाई पनि । पिडिमा बसेर आमाकै बाटो हेरीरहदा एक हुल मान्छेहरु आए । एकाएक मलाई खै कता लगे र मेरो कपाल मुण्डन गरीदिए । अनि जनै लगाईदिए र नुहाइदिए । मलाई थाहा थिएन यो सबैथोक के गरीरहका छन् मान्छेहरुले भन्ने कुरा । बिस्तारै दिन ढल्कदै गयो ।
घरमा एकाएक रुवावासी चल्यो । शोकाकुल बन्यो गाँउ । मेरो परीवार अनि उनीहरूसगै म पनि रुन थाले । मलाई थाहा थिएन मलाई जन्म दिने आमा मलाई छाडेर जानु भएको छ भन्ने कुरा । म कसैलाई सोध्न पनि सक्दैनथे अनि धेरै कुरा बुझन पनि । म अझै पनि खोज्दै थिए । मम्मीलाई बाबालाई भन्दै थिए ‘बाबा ममि र भाई कतिबेला मामाघर बाट आउनुहुन्छ’ भन्नुहोस् बाबा भन्दै बाबासगै रूदै भन्दै थिए ।
रात रूदा रूदै बित्यो । बिस्तारै बिहानी हुदै गयो । गाँउभर शंख बज्न थाले । यो के देख्न प¥यो नि शिब भन्दै मान्छेहरू ओहोरदोहोर गरीरहेको म आज पनि सम्झन्छु, । म जम्मा १२ बर्षको थिए त्यतिबेला । केही अघि पुगेपछि, क्षतविक्षत लासहरुको खातबाट मेरो आमाको शव निकालियो । मेरी ठूलो आमाको लास पनि निकालियो । अनि मेरो सानो मुटुको धड्कन सानो भाईलाई पनि निकालियो । त्यो लासहरुको खातबाट मैले पनि मेरी ममी र भाईले लगाएका लुगाहरुबाट चिने । अन्तिम दाहसँस्कारका लागी चित्तामा राखेर मेरी ममी र भाईलाई मुढाले किच्दै गर्दा मैले बाबालाई भने बाबा ममिलाई मुढाले किन किचेको ? भाईलाई त्यति ठुलो मुढाले किचेको दुख्दैन ? बाबाले भन्नुभयो, अब भाईलाई केही हुदैन्, अब तिम्रो ममीलाई केही पनि हुदैन्, बाबु, उनीहरुलाई दुःदैन ।
म आज पनि सम्झन्छु त्यो मेरो बाल चित्कार । म माथि परेको बज्र रहेछ त्यो । मेरो खुसी लुट्ने दिन रहेछ यो । हेर्दा हेदै आँखै आगाडि ममि भाई र अन्टिलाई आगोले सिध्यायो । तर हामी लाचार र निरीह बनेर हेरीरहयोै । रीतिरिवाज र सँस्कार धान्ने भन्दै म सानो बालकलाई बन्द कोठा भित्र राखेर यो खान हुन्छ त्यो खान हुदैन भनेर मानसिक याताना दिने काम भयो । आमा र मेरो अबोध भाईका हत्याराहरु । मेरा परीवार अनि आफन्तहरुको एकै चिहान बनाउने, मेरो भबिश्य लुट्ने अपराधीहरुलाई अझैसम्म पनि कानुनले समातेको छैन् ।
आमा तपाईको ममताबाट जर्बजस्ती छुटाएर मलाई यो संर्घषपुर्ण जीबन बाँचिरहन परेको छ । मलाई एक्लै बनाएर तपाई कहाँ जानु भयो । मैले बाटो बिराउदा पनि सम्झाउने तपाई आमा हुनभएन मसँग । ठेस लाग्दा, चोट लाग्दा, बिरामी हँुदा, अनि मौसमहरुले सताउदा मलाई तपाईको ममता कति खडिरहेको होला ? तपाईको ममताको अभावमा छट्पटाएर तडप्डिपिएर बाँचिरहनुपरेको छ म ।
सत्मार्गमा हिड्न सिकाउने सबै जिम्मा बाबालाई दिएर प्यारो भाईलाई लिएर अलबिदा लिनुभयो आमा तपाईले । अपराधीहरू माथि कारर्बाही नहुँदा तपाईको आत्माले पनि शान्ति पाइरहेका छैन् । न त हामीलाई नै शान्ति मिलेको छ।
उहि तपाईको टुहुरो छोरो,
मेधनाथ तिवारी
कल्याणपुर ५ माडि चितवन



