राजेश विद्रोही/सिरहा, ३ असार । ‘हिमाल’ र ‘पहाड’ मनमा थुप्रै सपनाहरू साँचेर माओवादी युद्धमा होमिएका थिए । तर, उनीहरुको सपना सुप्रिम कमाण्डर तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारसँग साटेर चकनाचुर बनाइदिए ।
सिरहा नगरपालिका–१ लक्ष्मीनियाँका रामपरीक्षण साफी ‘पहाड’ र महोतरी बर्दिवास नगरपालिका–१ का ठगेन्द्रविक्रम थापा ‘हिमाल’को जीवनमा एकाएक बदलाव देखिएपछि स्थानीयहरू चकित छन् ।
२०५३ सालमा माओवादी सशस्त्र युद्धमा होमिएका रामपरीक्षण २०५५ सालमा जनमिलिसिया हुँदै जनमुक्ति सेनामा प्रवेश गरेका थिए । त्यस्तै बर्दिवासका ठगेन्द्र बिक्रम थापा ‘हिमाल’ पनि २०६१ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।
विस्तृत शान्ति सम्झौताअनुसार देशैभरी सात डिभिजन र २१ ब्रिगेडमा जनमुक्ति सेना क्यानटोनमेन्टमा क्याम्पिङ भएपछि दोस्रो डिभिजन अन्तर्गत सिन्धुलीको कोकटीमा रहेका सोलुसल्लेरी स्मृति ब्रिगेडको प्लाटुन कमाण्डर साफी थिए भने महोत्तरीको खैरमारामा रहेका रामवृक्ष समृति ब्रिगेडका प्राविधिकका रुपमा थापा थिए ।
साफी र थापाले समायोजनमा नगई पाँच लाख रकम लिएर स्वऐच्छिक अवकाश रोजेका थिए । सम्मानजनक समायोजन नहुँदा आफूहरू स्वेच्छिक अवकाश रोजेर बाहिरिनु परेको थापाले बताए ।
‘प्रचण्डले प्रशिक्षणमा पटक–पटक आफूहरूलाई एउटा सदस्यले हजारौं नेपाली सेनाको कमाण्ड गर्नुपर्ने र हाम्रो मूल्य तलबी र व्यवसायिक सेनाभन्दा मूल्यवान रहेकाले सबैलाई डिग्रीको सर्टिफिकेट दिने आदि थुप्रै झूठा आश्वासन बाँढे,’ उनीहरु भन्छन् ।
उनीहरुको आरोप छ, आफ्नो खुसीका लागि नेताहरुले कार्यकर्ताको सारा जीवनका खुसी लुटे । ‘आज हामी सडकमा पुग्नुपरेको छ’, उनीहरू भन्छन्, ‘इतिहास यस्तै हो । केहि गर्नेहरूको भन्दा नगर्नेहरूले इतिहासको जस लिंदै आएका छन् । हामी पनि त्यस मध्येमा परेका छौं ।’
प्रचण्डले सहिद, बन्दी, बेपत्ता र जनमुक्ति सेनाको रगत पसिनासँग सिंहदरबार साटेपछि सहिदपरिवारको बिचल्ली, घाईते अपांगको बेहाल र जनमुक्ति सेनाको हरिबिजोग भएको छ । साफी भन्छन्, ‘दुनियाँको जीवन बिगार्ने प्रचण्डले पापको भारी बोक्नैपर्छ ।’
उनी अगाडि थप्छन्, ‘रगतको अवमुल्यन गर्ने प्रचण्डका पाप धेरै छन् । उनले आत्मग्लानी र पश्चाताप गर्ने मौका पनि पाउने छैनन् ।’
अहिले सडकमा जीवन खोजिरहेका यी दुई पूर्व लडाकुले प्रचण्डलाई श्राप नै दिएका छन् । ‘प्रचण्डले दुनियाँको रगतमाथि जुन प्रकारको धोकाधडी गरेका छन् त्यसको भारी बोक्नुपर्छ’, उनीहरू भन्छन्, ‘एक्लौटी पार्टी नेतृत्वमा बस्नुपर्ने, शक्तिमा रहिरहनुपर्ने उनको रोगमात्र होइन मनोरोगको परिणाम भोग्नुपर्छ । सहादत प्राप्त जीवनले उनलाई कहिले पनि माफी दिने छैन ।’
कोइराला खानदान जस्तै एकलौटी पार्टीको नेतृत्वमा बसिरहनु पर्ने रोग प्रचण्डमा छ । तर, जस सबै प्रचण्डले नै लिनु पर्ने र अपजस जति सबै फुटेर जाने नेताहरूको टाउँकोमा थुपार्ने प्रवृतिले प्रचण्ड पतनको समय सुरु भइसकेको उनीहरू बताउँछन् ।
यि त तिनै पुर्वलडाकु हुन् जो अहिले झण्डी र जटी बाबाजी भएका छन् । ‘क्रान्तिको समयमा क्रान्ति गरियो जब नेतृत्व भ्रान्तितिर लाग्यो हामी सनातन हुन बाध्य भएका छौं’, उनीहरू भन्छन्, ‘जीवनको खोजीमा धेरैको जीवनमाथि प्रचण्ड नेतृत्वले खेलवाड गरेको थियो । उनी सिंहदरबारको कुर्सीमा रक्तबिजजस्तो टाँसिएका छन् त्यो पापको परिणाम भोग्नैपर्छ ।’
सयौंका संख्यामा जिउँदा सहिदहरू समाजमा छन् । हजारौं नेताकार्यकर्ताको समुचित व्यवस्थापन नहुँदा स्वदेश तथा विदेशमा विचलित र निर्वासित जीवन बिताउन विवश छन्, माओवादी जनसेनाहरु । नेताहरू टुटफुट र विभाजनमा विभक्त छन् ।
तत्कालीन नेकपा माओवादी पुरानै वर्गमा फेरिएको उनीहरूलाई लाग्छ । ‘कम्युनिष्टमाथि लाग्दै आएको जड र संकिर्णताको आरोपको शिकारलाई जबसम्म माओवादीहरूले तोडेर एक ठाउँमा उभिंदैन् र विकेन्द्रित माओवादी विचारहरू केन्द्रीकृत हुँदैन् तबसम्म माओवादीले हार व्यहोरिरहनु पर्छ ।’
उनीहरूको विश्लेषण छ, ‘माओवादी कमजोरीको जगमा विजातिय राजनीतिक दल र वर्ग विजयोत्सव मनाई रहने छन् । हामी जुन अवस्थामा छौं त्यो अवस्थामा पुगेका धेरैको श्रापको भारी प्रचण्डले बोक्नुपर्छ ।’
उनीहरू जसरी माओवादी जनयुद्धमा होमिए धेरैले परिवर्तनको ठूलो आशा गरेका थिए । त्यो परम्परागत सिंहदरबारविरूद्धको अभियानमा गोली र छर्राको मतलव नराखी अघि बढ्दैगर्दा सुप्रिमोको आत्मसमर्पणले सपनाहरू खरानीका डल्ला भए । सझापोस्ट बाट साभार



