
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताउनुभएको छ ।
बिहीवार धनगढी विमानस्थलमा प्रत्रकारसँग कुराकानी गर्दै उहाँले भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो सल्लाह लिएको भन्ने कुरा पनि प्रष्ट भएको छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। त्यसपछि मात्र वास्तमा के भएको हो भन्न सकिन्छ। अहिलै सकिदैन।’
चैत ४ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाएको छ। सर्वोच अदालतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अदालतमा बोलाउनुभएको छ।
उहाँले वैशाख ३० गते नै निर्वाचन हुने बताउनुभएको हो। उहाँले भने,‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए। हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुंगो लागिसकेको छ। अब त केही दोधार छैन होला।’
गौरीगंगामा आयोजना हुने कार्यक्रममा सम्बोधनका लागि नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली पुग्नु भएका छन्। जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा फिर्ता भएपछि पहिलोपटक गौरीगंगामा माओवादी केन्द्रले कार्यक्रम गर्न लागेको हो। जनता समाचार बाट साभार