काठमाडौं । रञ्जु दर्शनाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् ।

बिहीबार उनले सामाजिक सञ्जालमा लेख्दै आफूले गत निर्वाचनमा गरेका बाचाहरु पूरा हुन नसकेको भन्दै उम्मेदवारी नदिने स्पष्ट पारेकी छिन् ।

आफूले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी नदिए पनि राजनीति भने नछोडेको बताएकी छिन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्नका लागि स्थानीयस्तरमा भिजेको मान्छे हुनुपर्ने बताउँदै आफू स्थानीयभन्दा पनि राष्ट्रिय मुद्दामा बोल्ने गरेको भन्दै उम्मेदवार नबन्ने बताइन् ।

‘म आफैँले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घर–घर मतदातालाई बाँडेको घोषणापत्रबमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेको छु । तसर्थ यस निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन। तर, मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आकलन गर्नुहुन्छ होला। यो साँचो होइन ! स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीयसँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतित भएको छ यसर्थ यिनै सक्रियताअनुसारको कदममा म अघि बढ्नेछु।’

त्यसैगरी आफूले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत ल्याएर विजयी भएर मात्र नहुने बताउँदै राजनीतिमा सु-संस्कार स्थापना गर्ने कुरामा विश्वास गर्ने समेत बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘मैले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत लेराएर विजय हासिल गरेर मात्र हुँदैन, यो राजनीतिमा त राजनीतिक सुसंस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्यही मान्यतामा मेरो यो कदम आधारित छ।’

‘धेरै शुभचिन्तक, साथीहरुले यस स्थानीय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुला मनले स्वीकार गरी पूर्ण ससक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु’, उनले भनेकी छिन् ।

त्यसैगरी दर्शनाले आफ्नो व्यक्तिगत मूल्यांकनको पूर्णपाठ समेत सार्वजनिक गरेकी छिन् ।

उनी यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरको मेयर बनेकी थिइन् । पछि पार्टी एकता भएपछि विवेकशील साझाकी नेतृ बनेकी रर्शना हाल कुनै पनि दलमा आवद्ध रहेकी छैनन् । उनले गत पुसमा विवेकशील नेपालीबाट समेत राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय