दमक/ नेकपा एमाले गौरादह नगर कमिटीले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन लाई लक्षित गरेर एमाले गौरादहले बिहीबार प्रतिवद्धता सार्वजनिक गरेको छ ।
कृषी, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निशुल्क स्नातक सम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दुध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा लेखिएको छ । कृषि उद्यमको स्थापना गरेर थप १ हजार जनालाई रोजगार सिर्जना गर्नेमा जोड दिएको प्रतिवद्धता–पत्र बेरोजगारी समस्या हटाउन बिभिन्न विकल्पका बारेमा सम्वेदनशिल देखिएको छ ।
वडा–वडामा एम्बुलेन्स, आपतकालिन हटलाईन सेवा, प्रत्येक नागरिकका घरमा सफा पिउने पानी, बिजुली, नगर भित्र विमा सुविधासहितको स्वास्थ्य सेवा लगायत विषय प्रतिवद्धता–पत्रमा जोडतोडका साथ उठाइएको छ । शिक्षाको हकमा केही फरक प्रतिवद्धता एमालेले गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्ने योजना राखेको एमालेले महिला तथा छात्रालाई निःशुल्क शिक्षामा जोड दिएको छ । स्नातक गरेर नगरभित्रै बेरोजगार बसेका महिलालाई नगरभित्रै रोजगार सिर्जना गर्नेमा एमाले चिन्तित देखिन्छ ।
नगर सुरक्षाका लागि सिसि क्यामेरा, नगर प्रहरी र नगर सुरक्षाबारे प्रष्ट लेखिएको प्रतिवद्धता–पत्रमा विकास निर्माण छुटेको छैन । थप ४५ किमी कालोपत्रे गर्ने एमालेको योजना छ । एमालेको योजनामा नगरपालिकामा बसोबास तथा भूमि सम्बन्धि समस्याको पूर्ण समाधान पनि छ । नगर आयोजना आयोग बनाएरै नगरको विकासको लागि सकारात्मक ढोका खोल्ने एमालेले योजना बनाएको छ ।
हजार किसानका घरमा बोरिङ जडान गर्ने र कृषकलाई व्यवसायिक खेतिमा सहयोग गर्ने एमालेको योजना छ । कृषकले गरेको उत्पादनको मुल्यमा सचेत देखिएको एमालेले बजार खोज्न सहयोग गर्ने समेत प्रतिबद्धता पत्रमा लेखिएको छ ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य हिकमत कार्की, जिल्ला अध्यक्ष दिपक कार्की, मेयरका प्रत्यासि छत्रपति सुवेदी, उपमेयरका प्रत्यासि जलवर्षा राजवंशी लगायतको उपस्थिति थियो ।



