काठमाडौंको सतुंगलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरी घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार राति चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थितमा प्रहरीमाथि हातपात गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

रामेछाप घर भई सतुंगल बस्ने २८ वर्षीय हिमाल योञ्जन र ३१ वर्षीय कृष्ण तामाङ पक्राउ परेका हुन्। राति करिब साढे ८ बजे सतुंगलको बाटोमा होहल्ला गरी झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली पुगेर उनीहरूलाई सम्झाउन खोज्दा उल्टै प्रहरी प्रभाग बलम्बूबाट ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार हेमराज एलजीमाथि हातपात गरेको उनीहरूमाथि आरोप छ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार उनीहरूले प्रहरीमाथि अश्लील शब्द प्रयोग गरी मुक्का र इँटाको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। एलजीको टाउकोमा चोट समेत पुगेको उनले बताए।

उनलाई तत्काल उपचारका लागि सतुंगलस्थित ओमसमाज अस्पताल लगिएको थियो। त्यसपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-५को देहाय ११८ अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको छ। यस घटनाको अनुसन्धान प्रहरी वृत्त थानकोटले गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर