जिल्लामा रहेको मतदान केन्द्रमध्ये भद्रपुर– ८ मा रहेको रंगशाला मतदानस्थलमा दुई केन्द्र सबै महिला कर्मचारी राखेर निर्वाचनको तयारी गरिएको छ । जहाँ मतदान अधिकृतदेखि स्वयमसेवक समेत महिला नै रहेका छन् ।

रंगशालाको ‘क’ मतदान केन्द्रमा विनिता अर्याल मतदान अधिकृत रहेकी छिन् भने ‘ख’ मतदान केन्द्रमा लक्ष्मीदेवी न्यौपाने मतदान अधिकृत रहेकी छिन् । दुवै केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ५÷५ जना कर्मचारी रहेका छन् । मतदानस्थल सुरक्षार्थ ११ जना महिला प्रहरी खटिएका छन् भने २÷२ जना स्वयम्सेवक परिचालन गरिएको अर्यालले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो नेतृत्वमा सबै महिला कर्मचारी राखेर पहिलो निर्वाचन गराउन लागेको हुँदा निक्कै उत्साहित छु– अर्यालले भनिन्– मतदानका लागि सवै प्रक्रिया पूरा गरेका छौं, वुधवार परिचय–पत्र वितरणसँगै सर्वदलीय वैठक समेत राख्यौं । यहाँ खटिने सबै जना कर्मचारीहरु उत्साहित छन्, आफू समेत एकदमै उत्साहित भएर काम गरिरहेकी छु– अर्यालले भनिन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता रहेका छन् । उनीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र केन्द्रबाट आफूले चाहेका उम्मेदवारलाई मतदान गर्नेछन् ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन मुख्य निर्वाचन कार्यालय झापाले विभिन्न विधि र प्रक्रिया अपनाउँदै अघि बढेको छ । निर्वाचनको अन्तिम तयारी पूरा गर्दै निर्वाचन कार्यालयले २८ र २९ गते मतदाता परिचय–पत्र वितरणको काम गरिरहेको र ३० गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन लागीपरेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले बताए ।

निर्वाचनका लागि झापामा ७ सय ५५ जना मतदान अधिकृत, ७ सय ५५ जना नै सहायक मतदान अधिकृत, १५ सय ६ जना सहायक कर्मचारी ७ सय ५६ जना कार्यालय सहयोगी र दुई हजार चार सय जना स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

यता निर्वाचनको सुरक्षार्थ नेपाल प्रहरीका एक हजार ९ सय, सशस्त्र प्रहरीका ७ सय ५५, म्यादी प्रहरी दुई हजार ९ सय १६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८ सय खटिएका छन् ।