नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपले लिन नमिल्ने बताइन् । उनले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यसवर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताइन् । उनले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताइन् । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।

उनले भनिन्, ‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ नै । त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन । तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ । त्यसैले अलि सतर्क रहनुपर्ने देखिन्छ । बाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो सतर्कता अपनाउनु पर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ ।’

विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताए ।

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । गतवर्ष पनि सरदरभन्दा बढी वर्षा भएको थियो । जसका कारण पनि आम मानिसहरु त्रस्त छन् । तर विभागले भने सतर्कता अपनाउन र त्रसित नहुन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर