संघीय सरकारले परीक्षणको लागि भन्दै हप्तामा दुईदिन विदा दिने निर्णय मोरङको लेटाङ नगरपालिकाले लागू नगर्ने भएको छ । लेटाङ नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो ।

‘संघीय सरकारले पनि परीक्षणको रुपमा हप्तामा दुई दिन विदा दिने निर्णय लागू गरेको थियो,’ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले भने, ‘हामीले पनि परीक्षणकै लागि विदा नदिँदा के हुँदोरहेछ भनेर निर्णय गरेका हौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले सरोकारवाला निकाय, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा संघ–संस्थाका मानिसहरुसँग विदा दिने कि नदिने भन्ने विषयमा छलफल गरेको थियो । ‘उक्त छलफलले हप्तामा दुई दिन विदा दिने र बिहान चाँडो कार्यालय खोल्नुपर्ने हुँदा लामो बाटोबाट आउनुपर्ने विद्यार्थी, शिक्षक र कर्मचारीलाई असहज देखिएकोले १ दिनमात्रै विदा दिने र पहिलेकै अवस्थामा कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको हो,’ लावतीले भने ।

संघीय सरकारले गत जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा शनिबार र आइतबार दुई दिन बिदा हुने र अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने उल्लेख थियो ।