काठमाडाैं । काठमाडाैंमा उत्पन्न हुने फाेहाेरकाे व्यवस्थापनमा वर्षाैंदेखि ठूलाे चुनाैती रूपमा खडा भएकाे छ । जुनसुकै दलका नेताहरूले यसकाे व्यवस्थापन गर्ने दाबी गरेपनि केही सातापछि उस्तै हुने गरेकाे छ । हाल पनि फाेहाेरले काठमाडाैं शहरनै दुर्घन्धित हुन पुगेकाे छ । याे कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा धेरैले रायहरू दिइरहेका हुन्छन् । फाेहाेर व्यवस्थापनबारे डा रवीन्द्र पाण्डेले फेसबुक स्ट्याटसमा राख्नुभएकाे सुझाव यहाँ जस्ताकाे तस्तै राखिएकाे छ ।
१. नागरिकको कर्तव्य
-हामी नागरिकले घरको फोहोरलाई पर्गीकरण गर्ने । करेसा खेती, कौसी खेती तथा छत खेती सबैले गर्यौं भने कुहिने फोहोर मलको रुपमा घरमै खपत हुन्छ ।
-प्लास्टिक, शिशा तथा अन्य नकुहिने फोहोरलाई एउटा बोरामा राख्ने । फोहोरको गाडी नआउन्जेल उक्त फोहोर घरभित्रै राख्ने । बाटोमा नफाल्ने ।
-बिक्री हुने फोहोर कवाडीलाई बिक्री गर्ने ।
२. युवा तथा सामाजिक व्यक्तिको कर्तव्य
– चोकमा फालेका फोहोरलाई बोरामा प्याक गरेर राख्ने | सडकमा असरल्ल फोहोर तथा दुर्गन्ध यसले न्यूनीकरण गर्छ | यो कामको लागि महानगरका फोहोर संकलन गर्ने कर्मचारीलाई पनि खटाउन सकिन्छ | सबै फोहोर बोराबोरामा बाँधेर राख्दा सहर सफा देखिन्छ ।
३. महानगरको कर्तव्य
हरेक वडाले आफ्नो वडाको फोहोर ब्यबस्थापन गर्नको लागि सम्भावित ठाउँ पत्ता लगाएर फोहोर बिसर्जन गर्ने | महानगरले फोहोरको दीर्घकालीन समाधानका लागि अहिले भएका सिस्डोल र बञ्चरे डाँडाको विकल्प खोजेर अल्पकालीन डम्पिङ साइड बनाउने ।
४. सरकार र महानगरको संयुक्त कर्तव्य
सिस्डोल तथा बन्चरे डाँडामा स्थानीयबासीको सहभागीतामा दुर्गन्ध रोक्ने केमिकल प्रयोग गर्ने, पिच बाटो, अस्पताल तथा प्रभावित क्षेत्रका जनतालाई रोजगारीमा अवसर दिने । फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय तथा गृह मन्त्रालयले तत्काल पहल गर्ने ।
५. सरकारको कर्तव्य
सरकारले दीर्घकालीन योजना बनाएर काठमाडौंको चारैतर्फ नयाँ डम्पिङ साइटको विकास गर्ने । फोहोर सुचारु गर्नको लागि प्रभावित जनता सम्मिलित समिति बनाएर विकास, अवसर, स्वास्थ्य रक्षा तथा अन्य जनस्वास्थ्यका प्रोटोकल बनाएर नियमित रुपमा फोहोर विसर्जन गर्ने ।
साथै सरकारले महानगरलाई बिना आग्रह / पूर्वाग्रह पूर्ण रुपमा सहयोग गर्ने ।
६ . काठमाडौंमा रहेका बागमती, विष्णुमति लगायतका नदी सफा गर्ने अभियान सञ्चालन गर्ने ।
७ पर्यटकको काठमाडौं बसाइलाई आकर्षित गर्नको लागि फोहोर बाधक भएकोले पर्यटन मन्त्रालयले पनि आवश्यक पहल गर्ने ।
८. फोहोरलाई मोहोर बनाउनका लागि योजना बनाएर निजी क्षेत्रलाई टेन्डरमार्फत् फोहोर व्यवस्थापनमा सहभागि बनाउने ।
९. वर्षायाममा फोहोरको कारण सर्ने सरुवा रोग रोकथाम गर्नको लागि स्वास्थ्य मन्त्रालयले योजना बनाएर कार्यान्वयन गर्ने ।
१०. प्रधानमन्त्रीको संयोजकत्वमा सम्बन्धित मन्त्रालय, बिभाग, उपत्यकाका सबै नगरपालिका सम्मिलित उच्चस्तरीय समिति बनाएर फोहोर व्यवस्थापनको दिगो समाधान गर्ने ।



