
काठमाण्डाै – नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ ।
मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।
बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।
‘हाम्रो अहिले देखिएको नोक्सानी एक करोड रुपैयाँभन्दा धेरै देखिएको छ, यसबाट भएका अरु नोक्सानीको त कुरै छाडौँ ’ प्रवक्ता भट्टराईले भन्नुभयो । दिनभर ६५ मेगावाट बिजुलीको उत्पादन बन्द भएपछि प्राधिकरणलाई माग धान्न मुस्किल परेको थियो । केही ठाउँमा लोडसेडिङ भएको थियो भने भारतबाट समेत आयात बढाइएको थियो ।