
झापा । झापाको कनकाई नगरपालिका- ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा आगजनी भएको छ । सोमबार बिहान ३.३० बजेतिर अज्ञात समूहले सहकारीमा आगजनी गरेका हुन् । आगजनीबाट सहकारीको स्टोर रुममा रहेको कागजात जलेर नष्ट भएको छ । लुटपाट गर्ने उद्देश्यले आएका व्यक्तिले लुटपाट गर्न नसकेपछि आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ह्याक्सो प्रयोग गरेर सहकारी फोर्ने प्रयास गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । सीसी टिभीको लाइन काटेर घटना गराएकाले प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।
आगजनी वा आगलागी के भएको हो त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । यसअघि गत बुधवार साँझ सुरुङ्गाकै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । सहकारीको ताला फोरी २ लाख ७० हजार रुपैयाँ चोरी गर्ने झापा गाउँपालिका ६ का ४० वर्षीय भवानीप्रसाद बिक पक्राउ परिसकेका छन् ।