काठमाडौं । संसदीय छानबिन विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबले उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन आज दिउँसो विज्ञ राखेर अध्ययन गर्ने भएको छ।

मंगलबार बसेको समितिको बैठकमा फरेन्सिक ल्याबको रिपोर्ट खोलेर देखाइएको थियो। फरेन्सिक ल्याबको रिपोर्टबारे प्रष्ट नभएपछि विज्ञ बोलाइएको समितिका एक सदस्यले बताए । समितिले विज्ञ राखेर परामर्श गरेपछि मात्र त्यसबारे रिपोर्ट सार्वजनिक गर्ने सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । विज्ञसहित समितिको बैठक अपरान्ह ४ बजे फेरि बस्ने उहाँले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिकभर भएको भनिएको भिडियोमा समय फरक पाइएको अर्का सदस्यले बताए। तर देखिएको कुरापनि विज्ञसहित मात्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । अपरान्ह बस्ने बैठकमा प्रहरीको फरेन्सिक ल्याबकै प्राविधिक राखेर फेरि भिडियो हेर्न लागेको अर्यालले जानकारी दिनभभयो ।

अर्थमन्त्री जनार्दन शर्मामाथि १४ जेठ राति बजेटलाई अन्तिम रुप दिँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेको छ । यसबारेमा अध्ययन गर्न २२ असारमा ११ सदस्यीय विशेष छानविन समिति गठन गरेको थियो । समितिले अर्थको सीसीटीभी अध्ययन गरेको थियो। तर, सीसीटीभी फुटेज नै डिलिट भएपछि त्यो रिकभरका लागि ४ साउनमा प्रहरीको फरेन्सिक ल्याब पठाइएको थियो।