नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।

निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।

यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

यस्तै, यही अगस्तमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ ।

सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय