काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।

उहाँले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँ तला वा बेसमेन्टलाई पार्किङकाे प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको काम गैरकानुनी रहेकाले यसलाई महानगरपालिकाले रोक्ने बताउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ : ‘अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

उहाँले सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प आफूहरुसँग खुला रहेको पनि बताउनुभएको छ ।

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न कारबाहीको चरणमा रहेको पनि बालेनको भनाइ छ । कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लङ्घन गरेको कार्यको तत्काल रोकथाम गर्नु महानगरको दायित्व भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको बताउनु भएकाे छ ।