झापा । पूर्वी तराईको झापा जिल्लामा पनि डेंगु सङ्क्रमणका बिरामी देखा पर्न थालेको छ । जिल्लाका निजी अस्पतालहरूमा डेंगु सङ्क्रमणका बिरामी देखा पर्न थालेको हो । जिल्लामा डेंगु संक्रमित फेला परेपनि स्थानीय पालिकाका स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापासँग भने डेंगु बिरामीको यकिन तथ्यांक नै छैन । झापाका पत्रकार अम्बिका भण्डारीलाई डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि उनले भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचार गराएकी छिन् । हाल घरमा आराम गरिरहेकी उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘फेरि जाँच्दा ल्याब रिपोर्टले डेंगु पोजेटिभ नै भन्यो ।’ त्यति मात्र नभएर अहिले निजी अस्पतालहरूमा पनि डेंगु सङ्क्रमणका बिरामीहरू उपचार गराइरहेको छ ।

केही दिनअघि बिर्ता सिटी अस्पतालमा केही डेंगुका बिरामी उपचार गराउन पुगेको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

‘स्वास्थ्य कार्यालयले पालिकाहरूसँग समन्वय मात्र गर्ने हो,’ उनले भने, ‘लार्भा नष्टदेखि डेंगु नियन्त्रण तथा रोकथाम सम्बन्धी सम्पूर्ण काम पालिकाको स्वास्थ्य शाखाहरूले गर्नुपर्ने हो ।’ जिल्लामा डेंगु संक्रमित भेटिन थाले पनि पालिका र स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै ठोस कदम नचालेको पाइएको छ ।

पालिकाहरूलाई डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले पत्राचार गर्न लागेको स्वास्थ्य कार्यालय झापाका डेंगुका फोकल पर्सन वीरेन्द्र दासले बताए ।

पालिकाका स्वास्थ्य शाखाहरूले नियमित रुपमा रिपोर्टिङ नगर्दा जिल्लाको यकिन तथ्यांक कार्यालयसँग नभएको जानकारी दिँदै उनले भने, ‘हाल निजी अस्पतालहरूमा डेंगुका बिरामीहरू भेटिएको जानकारी आयो, पालिकाहरूसँगै त्यसको कुनै आधिकारिक जानकारी छैन, हामीले बिरामीको तथ्यांक माग गरिरहेका छौँ ।’ ‘जिल्लामा डेंगुका कति बिरामी छन् त्यो पनि भन्न सक्ने अवस्था छैन,’ उनले भने ।

जिल्लाको शहरी क्षेत्र दमक, बिर्तामोड, मेचीनगर र भद्रपुर डेंगु संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत तथा सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । अहिलेसम्म सुन्नमा आएको बिरामीहरू त्यही क्षेत्रमा भेटिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय