सिन्धुलीमाढी । सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्न नगद तथा साइकल सहयोग कार्यक्रम ल्याएको छ।

पालिकाले चालू आर्थिक वर्ष २०७९र८० देखि कार्यान्वयन गर्ने गरी विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई नगद एक लाख रुपियाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल सहयोग गर्ने कार्यक्रम ल्याएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राको विवाह गर्नेक्रम बढेपछि बालविवाह नियन्त्रण गर्न कार्यक्रम ल्याइएको हो। कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्चशिक्षा प्रदान गर्न उत्प्रेरणाका साथै सहयोग पुग्ने उहाँले बताउनुभयो।

“पालिकामा तल्लो कक्षामा अध्ययनरत हुँदै बालविवाह गर्ने चलन बढी देखियो,” उहाँले भन्नुभयो, “त्यसैले विवाह गर्नुअगावै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई हामीले नगद एक लाख दिने कार्यक्रम राखेका हौँ।” पालिकाले गर्ने उक्त सहयोगले स्नातक तह उत्तीर्ण गरिसकेपछि छात्रालाई माथिल्लो कक्षा पढ्न अथवा अन्य कुनै व्यवसाय गरेर बस्छुभन्दा पनि थप सहयोग पुग्ने जनाइएको छ।

त्यस्तै एसईई दिएपछि यहाँ धेरैले विवाह गर्ने र उच्चशिक्षा हासिल गर्नबाट वञ्चित भएकाले कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्रालाई साइकल दिने कार्यक्रम ल्याएको गाउँपालिकाको भनाइ छ।