पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

गएराती बारा कलैयाकी १२ वर्षीया प्रीतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । यस अघि बिहीबार उक्त बस दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी उपरीक्षक गौतमका अनुसार बस दुर्घटनामा परि मृत्यु भएका १७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् ।

त्यस्तै हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।