काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

देशभर उम्मेदवारी मनोनयन दर्ता हुँदा आगामी मंसिर ४ मा केही स्थानमा रोचक प्रतिश्पर्धा हुने भएको छ भने यो निर्वाचनमा केही चर्चित अनुहार चुनावी प्रतिस्पर्धाबाट सुरुमै बाहिरिएका छन्।

विशेष गरी एमालेका केही चर्चित नेताहरु चुनावी प्रतिस्पर्धाबाट बाहिरएका हुन्। एमाले शीर्ष नेतामध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा निर्वाचनमा नउठ्ने भएका छन्।

उनीहरु स्वेच्छाले चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। तर पार्टीले टिकट नदिएपछि नेता भीम रावल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। अर्का नेता घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमाले परित्याग गरी नेकपा एकीकरण राष्ट्रिय अभियान गठन गरेका नेता बामदेव गौतम चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
यसअघि गौतम माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गरेका थिए। सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा निर्वाचन क्षेत्र भागमा नपरेपछि गौतम चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।

यसैगरी माओवादी केन्द्रका तीन जना केन्द्रीय नेता चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल र सभामुख अग्नि सापकोटा चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।

संविधानसभा निर्वाचनयता निरन्तर जित्दै आएका थिए। यस्तै, नेपाली कांग्रेसका नेता एंव पूर्व(अर्थमन्त्री डा।रामशरण महत, डा।मीनेन्द्र रिजाल र महेश आचार्य, गुरुराज घिमिरेलगायत नेताहरू पनि आसन्न निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

केही चर्चित नेता चुनावी प्रतिस्पर्धाबाट बाहिरिए पनि कतिपय ठाउँमा भने आफूले टिकट नपाएकाृे भन्दै बागी उम्मेवारी परेको छ।
देशभरका विभिन्न क्षेत्रमा दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्रहरूले उम्मेदवारी दर्ता गराएका छन्।

गत स्थानीय तह निर्वाचनमा केही पालिकामा स्वतन्त्र उम्मेदवारहरूले शानदार विजय हासिल गरेका थिए। स्थानीय तह निर्वाचनमा स्वतन्त्रले पाएको मतले हौसिएर संघीय निर्वाचनमा पनि धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेमा कलाकारदेखि विभिन्न क्षेत्रका विज्ञ र सेलिब्रेटीसमेत छन्।

काठमाडौं-६ बाट गायक सञ्जय श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा लड्न उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, काठमाडौं-५ बाट हास्यकलाकार मधुसूधन पाठक ‘सिते बा’ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले आसन्न चुनावमा काठमाडौं-५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। काठमाडौं-२ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, काठमाडौं -५ बाट हेमराज थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं-९ मा सुनिल रिजालले उम्मेदवारी दर्ता गराएका छन्। धादिङ-१ बाट ‘स्ट्याण्डअप कमेडियन’ हिमेश पन्तले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट सागर ढकालले मनोनयन दर्ता गरेका छन्। लेखक युग पाठकले झापा-५ मा प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

चितवन क्षेत्र नम्बर २ मा देविका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। पूर्वसांसद सरिता गिरीले सिरहा क्षेत्र नम्बर -१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन

यता कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेशकुमार सिंह स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले सर्लाही क्षेत्र-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

पूर्वसांसद पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कैलाली(५ मा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार छन्। कांग्रेसका नेता रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधि दीपक सिंह र महाधिवेशन प्रतिनिधि शारदा चन्दले उम्मेदवारी दिएका छन्। कांग्रेस जिल्ला कार्यसमिति खोटाङले स्वतन्त्र उमेदवारी दर्ता गराएको छ। गुल्मी-२ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। सिन्धुपाल्चोक-२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका बद्री चौलागाईंले उम्मेदवारी दिएका छन्। चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। धादिङ २ मा कांग्रेसले वर्तमान सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ।

कांग्रेसका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ- १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उनले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेले टिकट नदिएपछि घनश्याम भुसालले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेकी केन्द्रीय सदस्य गंगा थारू सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। उनले दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्। एमाले नेता रामवीर मानन्धरले काठमाडौं(७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय