(विनोद सापकोटा) झिलझिले । पूर्व–पश्चिम राजमार्गको कनकाई पुलमाथिबाट पछिल्ला दिनमा यात्रा गर्नुभएको छ ? छैन भने सवारी साधनमा जोगिएर यात्रा गर्नुहोला । कनकाई पुलमा भएका खाल्डोमा परेर हुने दुर्घटनाले तपाईँको अंगभंग मात्र होइन । ज्यानै जान सक्छ । कनकाई पुलमा ज्यानै लैजाने प्रकृतिका खाल्डाखुल्डी छन् ।

यही खाल्डाखुल्डीका कारण दिनहुँ दुर्घटना जोखिम बढेको छ । अझ दिनमा भन्दा पनि रातमा यात्रा गर्दाको डर दिनको भन्दा चार गुना बढी हुन्छ । झापाको कनकाई नदीको पुलको दर्जन बढी ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । खाल्डा परेको कतिपय ठाउँमा रड ठाडा परेर दुर्घटना हुन थालेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले दशैको बेला एकै दिन ३ वटा दुर्घटना भएको जनाएको छ ।

दसैँ अवधिमा मात्र कनकाई पुलमा ११ वटा दुर्घटना भए । एक जना घाइते अझै सिकिस्त रहेको बिएन्डसी अस्पताल बिर्तामोडले जनाएको छ । उनी पाँचथरका हुन् । उनलाई अन्य सवारी साधनले ठक्कर दिएको होइन । एम्बुस जस्तो खाल्डोमा परेर उनी आफै दुर्घटनामा परे र उनको करङ भाँचियो । उनको उपचारमा लाखौँ रुपैयाँ खर्च भइसकेको छ ।

पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको सवारी चालकले बताउन थालेका छन् । ‘कनकाई पुलमा यातायातका साधन जोगाएर चलाउँदै मुस्किल छ,’ शिवसताक्षीको सेभेनसिज अंग्रेजी बोडिङ स्कुलका बस चालक रामबहादुर दाहालले भने ।खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कार लगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको छ । नियमन गर्ने निकायको लापरबाहीले धेरैको ज्यान जोखिममा पर्ने गरेको स्थानीय राजन न्यौपानेले बताए । ‘अन्तर्राष्ट्रिय मुलुक सँग जोडने सडकमा त यस्तो लापरबाही गर्नु हुन्न नि यार,’ आक्रोशित हुँदै न्यौपानेले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले खाल्डा पुर्न नियामक निकाय सडक विभाग, स्थानीय पालिका, प्रशासन लगायतसँग दसैँ अघि नै कुरा गरेको जनाएको छ । तर, हालसम्म खाल्डा जस्ताको त्यस्तै रहेको बताएको छ । दशैका मुखमा उप्कायो अनि त्यतिकै छोड्दिनाले कनकाई पुलमा यात्रा गर्ने जो कोही पनि दुर्घटनाको जोखिममा पर्न थालेका छन् ।

तीव्र गतिमा गुडाइने मोटरसाइकल लगायत अन्य सवारी खाल्डोमा परेर उछिट्टिने डर हुन्छ । यो अवस्थामा चालकले धेरै ख्याल गरेर सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोक जवेगुले सवारी चालकलाई सुझाए ।

‘कनकाई पुलमा डरलाग्दा खाल्डाखुल्डी छन् । जोगिएर सवारी साधन चलाउनुहोस्,’ उनले सवारी चालकहरूलाई सुझाव दिए । डिभिजन सडक कार्यालय दमकले पुलको माथिल्लो भागको कालोपत्रे र जोर्नी जीर्ण भएकाले मर्मत हुने बताएको छ। दसैँ बिदाका कारणले ढिला भएको र अब चाँडै मर्मत हुने दाबी कार्यालयले गरेको छ । टाइम्स अफ प्रदेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय