
धनगढी।
धनगढीमा एक पूर्व प्रहरी र उनका छोरामाथि बीच बजारमै हमला भएको छ। सोमबार साँझ सात बजेतिर धनगढी उपमहानगरपालिका १ स्थित कैलालीपुल नजिक उनीहरुमाथि कुटपिट भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेको बताइएको छ।
कुटपिटमा परेर तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको प्रहरीले बताएको छ। अहिले उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
यता, कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दिपक खड्का र गणेश खड्कालाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरुलाई समातेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
झगडा हेर्नेहरु बेहोस
यस्तै प्रहरीले झगडा भईरहेको देखेपछि २ महिला बेहोस भएको जनाएको छ। झगडाका क्रममा रगत दखेपछि बेहोस भएका उनीहरुलाई उपचारका लागि नवजीवन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। भलगडा देखेर धनगढी उपमहानगरपालिका ३ विशालनगर बस्ने बर्ष २० कि सुर्जा श्रीमाल र वर्ष २० कि पुजा श्रीमाल बेहोस भएको उनले बताए।