काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ’शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला भन्दै व्यङ्य गरेका हुन् ।
उनले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार-अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध भएको टिप्पणी गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध छ ’
आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन् । आयोगले ‘नो नट अगेन’आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको छ ।
झुठ फेसबुक पेज÷ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाउन आग्रह गर्दै चेतावनी दिएको हो ।



