काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको छ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै ‘विकेट’ गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।
नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।
अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५-१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए । युएई अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।



