लक्ष्मी काफ्ले
दक्षिणी झापाको जलथल जंगलबाट हात्ती निस्किएर गाउँमा बितण्डा नमच्चाएको रात छैन । वर्षौ भइसक्यो, हात्तीको त्रासकै कारण स्थानीयबासी ढुक्कले निदाउन पाएका छैनन् ।
साँझ पर्नासाथ जंगलबाट निस्किने हात्तीको समूह गाउँ प्रवेश गर्छ । स्थानीयको घरमा क्षति पु¥याउने, राखिएको अन्न नष्ट गरिदिने, खेतको बाली सखाप पार्ने हात्तीको दैनिकी नै बनेको छ । स्थानीयले हात्तीबाट जोगिन अनेक उपाय अपनाएका छन् । तर, उनीहरुको कुनै पनि उपायले हात्तीलाई रोक्न सकेको छैन ।
६ हजार ३ सय हेक्टर क्षेत्रफलमा फैलिएको जलथल जंगल कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको छ । यस जंगलमा ७ देखि ११ वटासम्म हात्तीको बसोबास रहेको हुनसक्ने जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदी बताउँछन् ।
रातको समयमा हात्ती घरसम्म नआओस् भनेर स्थानीयले अनेक उपाय लगाएका छन् । कचनकवल गाउँपालिकाअन्तर्गत जंगल आसपासका अधिकांश घरको वरिपरि बिजुलीको नांगो तारले घेरा लगाइएको छ । तारमा रातको समय करेन्ट छोडिन्छ । तर, पनि हात्तीले तार चुट्टाएरै उपद्रो गर्ने गरेको उनीहरुको दुःखेसो छ ।
दिनभर जंगलमा आराम गर्ने हात्ती रात परेपछि अन्नको खोजीमा निस्कन्छ । रोचक कुरा त के छ भने, हात्तीलाई घरेलु मदिरा औधि मन पर्छ । मदिरा बनाउने घर र मदिरा सेवन गरेको मन्छेलाई हात्तीले बढी आक्रमण गर्ने गरेको वन कार्यालयका प्रमुख सुवेदीले बताए । उनका अनुसार पछिल्लो डेढ वर्षयता मात्र हात्तीको आक्रमणमा परी झापामा ७ र झापा–इलाम सीमानामा ४ गरी ११ जनाले ज्यान गुमाइसकेका छन् ।
वन कार्यालय झापाका प्रमुख सुवेदीका अनुसार जलथल जंगल एशियाकै उष्ण प्रदेशीय अन्तिम जंगल हो । जंगलमा जैविक विविधता रहेकाले त्यसको संरक्षण गरिनुपर्ने उनी बताउँछन् । २०३६ सालअघिसम्म झापामा ८६ हजार हेक्टर वन क्षेत्र रहेकामा अहिले घटेर १७ हजार हेक्टर मात्र बाँकी रहेको उनले सुनाए ।
यस्तो छ स्थानीयको पीडा
‘हात्तीका कारण हामी सुत्न, बस्न, खान पाएका छैनौँ,’ कचनकवल गाउँपालिका–१ का बुद्धिलाल बस्नेतले एकैपटकमा भने, ‘घर लडाएर बिजोग छ, राति सुत्न पाइँदैन, भएको अन्न पनि हात्तीले नै खाइदिन्छ ।’ २२ वटा सामुदायिक वन उपभोक्ता समितिको जिम्मामा छ, जलथल जंगल । वन समितिका प्रतिनिधिहरुले हात्ती नियन्त्रणका लागि जिल्ला वन कार्यालयसँग पटक–पटक माग गरिरहेका छन् ।
कचनकवल–१ घेराबारीका दलबहादुर तामाङ दिनभरको कामले लखतरान भए पनि राति सुत्न नपाइएको तितो यथार्थ सुनाउँछन् । ‘निदाइसक्दा हात्ती आएर घर हान्छ,’ उनले भने, ‘म घरमा छुइनँ भने छोराछोरी पनि सुत्न पाउँदैनन्, पटेका ल्याएर राखेको थिएँ, अस्ति हात्ती आउँदा पड्काउन पनि जानिनँ ।’ राति ८ बजेदेखि २ बजेसम्म गस्ती बढाइनुपर्ने उनको माग छ ।
साँझ ७ बजेपछि हात्ती नआएको दिन नरहेको पश्चिम देउराली सामुदायिक वनका अध्यक्ष दुर्गा भण्डारीले बताए । गाउँमा साइरनसहितका गाडी परिचालन गरिनुपर्ने स्थानीयको माग छ । स्थानीयबासीले आफ्ना छोराछोरीलाई विद्यालयसम्म पनि एक्लै पठाउन सक्दैनन् । छुट्टीको दिन घरबाहिर छोराछोरी खेल्दा पनि रुँघेर बस्नुपर्ने उनीहरुको बाध्यता छ ।
‘ईश्वरले हात्तीलाई ठूलो पेट दिएका छन्, त्यसैले हात्तीलाई खानेकुराको व्यवस्था पनि गरिदिनुपर्छ,’ स्थानीय दीपतारा थाम्सुहाङले फरक तर्क गरिन्, ‘जंगलभित्रै हात्तीलाई घाँस र पानीको व्यवस्था गरिदिने हो भने हामीलाई दुःख दिन गाउँसम्म हात्ती आउँदै आउँदैन नि !’ गाउँका सबैभन्दा गरिबहरुकै घरमा हात्तीले बढी नोक्सानी पु¥याउने गरेको स्थानीय उमाशंकर गणेशको गुनासो छ । हात्ती धपाउनका लागि टर्चलाइट, पटाका लगायत सामाग्रीको अभाव रहेको शसस्त्र प्रहरी क्याम्पका इन्सपेक्टर बिबुराज दाहालले बताए ।
यसरी गरिँदैछ हात्ती नियन्त्रण
हात्ती नियन्त्रण गर्नकै लागि कचनकवल गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ७२ किलोमिटरसम्म विद्युतीय तारबार (सोलार फेन्सिङ) जडान गर्नका लागि सरकारबाट ८ करोड रुपैयाँ स्वीकृतसमेत भइसकेको जिल्ला वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । उक्त बजेटबाट जलथल जंगलको ५० किलोमिटर क्षेत्रफलमा तारबार लगाइने उनको भनाइ छ ।
‘हात्तीलाई जंगलभित्रै राख्नका लागि जंगलमै खानेकुरा र पानीको व्यवस्थापन गरिदिनुपर्छ,’ उनले भने, ‘जंगलभित्रका सिमसारहरु पुरिएका छन्, त्यसको पनि व्यवस्थापन गर्नुपर्छ ।’ कुनै समय झापाकै बाहुनडाँगीमा दिनहुँ जंगली हात्ती आउने गरेको स्मरण गर्दै जिल्ला वन अधिकृत सुवेदीले सोलार फेन्सिङकै कारण हात्ती नियन्त्रण गरिएको सुनाए । ‘बाहुनडाँगीमा भारतबाट ५० देखि डेढसय वटासम्म हात्ती एकैपटक आउँथे,’ उनले भने, ‘विश्व बैंकको सहयोगमा १८ किलोमिटर तारबार लगाएपछि अहिले नियन्त्रणमा आएको छ ।’
हात्ती नियन्त्रणमा सांसद्को सक्रियता
कांग्रेस नेता कृष्ण सिटौलालाई हराएर ‘माननीय’ बनेका झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन हात्तीको उपद्रो रोक्नका लागि दिनरात आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । वन कार्यालयका प्रमुख सुवेदी र कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई पनि साथै लगेर उनले शुक्रबार दिनभर स्थानीयबासी तथा सामुदायिक वनका पदाधिकारीहरुसँग छलफल गरे ।
स्थानीयलाई पालैपालो बोल्न लगाएर उनले हात्तीबाट भोग्नु परेको समस्याहरु सुने । हात्ती नियन्त्रणको तत्कालीन र दीर्घकालीन दुबै उपायको खोजी गर्न उनी निर्वाचन क्षेत्रमा व्यस्त बनेका हुन् । उनले स्थानीय तह र संसदीय निर्वाचनमा पनि हात्तीको समस्या समाधान गर्ने बाचा गरिसकेका छन् ।
सांसद् लिङ्देनकै पहलमा हात्ती नियन्त्रण गर्नका लागि पर्याप्त बजेट पनि बिनियोजन भएको छ । त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न उनी आफैँ जुटेका हुन् । ‘सरकारबाट छुट्टिएको पैसा आइसकेको छैन,’ सांसद् लिङ्देनले भने, ‘त्यो पैसालाई फ्रिज हुन नदिनका लागि प्रकृति संरक्षण कोषमा राख्ने हाम्रो तयारी छ ।’
सांसद् लिङ्देन तारबारसँगै जलथल जंगलको वरिपरि सडक बनाउने अभियानमा पनि जुटेका छन् । ‘वनलाई घेर्नका लागि वरिपरि बाटो बनाउनुपर्छ,’ उनले भने, ‘त्यसले पनि हात्ती रोक्न निकै मद्दत गर्छ, त्यससँगै तारबार गर्न पनि सजिलो हुन्छ, स्थानीयकै सहभागितामा सडक बनाइनेछ ।’
सो क्रममा सांसद् लिङ्देनलाई सामुदायिक वन स्थानीय महासंघका तर्फबाट अध्यक्ष नवराज भट्टराईले ध्यानाकर्षणपत्र समेत हस्तान्तरण गरेका थिए ।
तस्बिरः लक्ष्मी काफ्ले÷नयाँ पत्रिका



