विष्णुप्रसाद पोखरेल
दमक/हाम्रो सवाल नेपाल डिजिटल पत्रिकाको कार्यालय जेसिस चोकमा नै रहेको छ । मुख्य चोक नै मानिन्छ । त्यहाँ जेसिस स्तम्भ कटेर थाना रोड जाने क्रममा मुखमा नै अलिकति खालि जमिन छ र पक्की एउटा संरचना रहेको छ ।
सवाल नेपालका प्रबन्धक केदार पौड्याल र म चिया खान भनेर यसो निस्केका थियौ । मेरो आँखा त्यो त्यो संरचनातिर गयो । जहाँ दूइ बालक लठ्ठ मातेजस्ता देखिए । एउटा सानो भाइ प्लाष्टिक सुघ्दै थियो ।
मैले पौड्याललाइ फोटो खिच्न भने । त्यसपछि छेउमा जाँदा लागु औषध सेवन गरेको पाए । अनि मैले भिडियो गर्न भने । तर उनिहरुले शर्त राखे । भोको भएकाले खानेकुरा दिनु पर्ने । मैले अगाडि पट्टि दुइजनालाइ मम भनिदिए । चिकेन मम खाने भनेपछि त्यहि भनिदिए ।
अनि उनिहरु बोल्न राजि भए । दमक १३ रहेछ घर । एउटै आमाका सन्तान । एउटा उमेर १५ अर्कोको १३ बर्ष । बाबु निक्कै अगाडि मरेका रहेछन् । आमाले अर्कैसंग विवाह गर्या । त्यो पनि अहिले विदेश । एकजना हजुरआमा जो साग बेच्ने गरेको उनिहरुले बताए ।
४ दिनदेखि भात नखाएको तर डेन्ड्राइड भने सुघिरहेका रहेका रहेछन् । दमकको मुख्य चोकमा, सबैको आँखा लाग्ने ठाँउमा त लागु औषधको यो अवस्था भेटिदो रहेछ मैले कल्पना पनि गरिन ।
मैले यिनिहरुलाइ उद्धार गर्न सकिन्छ की भनेर तत्काल लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, दमक नगरपालिकाकी मेयर रोमनाथ ओली, उपमेयर गिता अधिकारीलाइ फोन गरे ।
मेयर ओली खोला अनुगमनमा रहनु भएको रहेछ । मैले केहि पनि भनिन । उपमेयर पनि बाहिरी कार्यक्रममा ब्यस्त रहेको पाए । तर दूइ घण्टापछि आउनु भयो । दमक सामाजिक कल्याण शाखाका डम्बर बराल, महिला शाखासंग पनि कुराकानी भयो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गिरीलाइ पनि खबर भएर आउनु भयो । एकैक्षणमा आसपासका सबै भेला भए ।
यिनिहरुको भित्रि पाटो आसपासकाले बुझ्ने भन्दा घृणाले हेरेको पाए । उनिहरुलाइ प्रहरीले पुर्नस्थापनामा भन्दा लखेटने र खेदाउने गरेको रहेछ । तर जब सार्वजानिक चासोको विषय भयो अनि सबैले भन्न थाले बिचरा, कठै !



