विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा अबैध कारोबार मानिने डिकुटीको कारोबार फस्टाउदै गएको पाईएको छ । यसमा धेरैजसो दमकमा नाम चलेका ब्यवसायी र उनका श्रीमतिहरु यसमा सक्रिय रहेको पाईएको हो ।
दमकमा होटलहरुमा दिनहुजसो ढिकुटी खेल चल्ने गरेको सम्बद्ध श्रोतको भनाइ रहेको छ । साप्ताहिक, पाक्षिक रुपमा यस प्रकारको ढिकुटी चल्दै आएको छ । आलोपालो प्रणालीले पैसा उठाएर चलाउने कार्यलाइ ढिकुटीको रुपमा लिइन्छ । तर यो अबैध मानिने जनाईन्छ ।
दमकका नाम चलेका होटलहरु र नाम चलेका ब्याक्तिहरुले नै यसको अगुवाइ गरिरहेकाछन् । यो भएकाले प्रहरीले समेत यो नियण्त्रणमा चासो नदिएको भन्ने गुनासो आउने गर्छ ।
ढुकुटी नेपालमा गैरकानूनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो।
दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्वनिर्धारीत प्रक्रियाबाट छानिएको खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ।
समूहअनुसार ढुकुटी खेल्ने आ-आफ्नै नियम हुन्छन्। कसैले गोलाप्रथा गर्छन्, केही पैसा छोड्छन्, कुनैमा नम्बर सिस्टम पनि चलेको पाइन्छ। गोलाप्रथा ढुकुटीको प्रचलित नियम हो, जसमा नाफा पनि सामान्य हुन्छ र जोखिम पनि कम।

यसमा जसलाई ‘बधाई’ लेखिएको गोला पर्छ, त्यो पटकको ढुकुटी उसैले खान्छ। अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ, उसैले ढुकुटी खान्छ। यो नियममा जति छोडेर पनि खान पाउने तथा किस्ताअनुसार न्यूनतम वा अधिकतम यति छोड्नैपर्ने भनेर पूर्वसहमति गरिएको हुन्छ। तेस्रो सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ, उसैले ढुकुटी खान्छ।
ढुकुटी सञ्चालन गर्ने व्यक्तिलाई ‘घोप्पा’ भनिन्छ। उसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ। जोखिम बहन गर्ने मुख्य व्यक्ति ऊ नै हुन्छ। सञ्चालकले ढुकुटीको पहिलो किस्ता आफैँ राख्छ।
जोखिम बहन गरेबापत सञ्चालकले कमिसन पाउनुका साथै खाजा खर्चको रकम बचत गर्न सक्छ। प्रायः जति रूपैयाँको ढुकुटी खेलिएको हुन्छ, त्यसको एक प्रतिशत खाजा खर्च तोकिएको हुन्छ। ढुकुटीमा संकलन हुने रकमअनुसार ढुकुटी खेल्ने स्थान तय गरिएको हुन्छ।
नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्ने हुन्छ, जुन ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमा दामासाहीले बाँडिन्छ। अन्तिममा ढुकुटी खानेलाई फाइदा हुने भए पनि अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा रकम डुब्ने जोखिम पनि उत्तिकै हुन्छ।
प्रतिशत छोडेर खाने ढुकुटीमा भने अगाडिकै किस्तामा खानेहरूले प्रतिस्पर्धामा धेरै रकम छोडेर ढुकुटी खान्छन्, जुन रकमलाई उच्चतम आम्दानी हुने क्षेत्रमा लगानी गर्न नसके घाटा हुन्छ। छोडेर खाने ढुकुटीमा भने छोडेर जति रकम खाएको छ, प्रत्येक सदस्यमा त्यो रकम भाग लगाएर एकमुस्ट संकलन गरिन्छ। ठूलो रकमको ढुकुटीमा चेक वा बढीमा सात दिनभित्र नगद दिनुपर्ने नियम लगाइएको हुन्छ।
कति रकमको ढुकुटी खेल्ने भन्ने कुरा खेलाडीको रकम निकाल्न सक्ने क्षमतामा निर्भर गर्छ। ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ। आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउँछन्। ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्छ। कानूनी आधार कुनै लिखत नहुने भएकाले विश्वासमा अलिकता संकट आउनेबित्तिकै ढुकुटी डुब्छ।



