दमक/झापा दमकका पुष्प बस्नेत र धिरेन्द्र बस्नेत जनयुद्धको क्रममा सरकारको तर्फबाट बेपत्ता बनाइए । अहिलेसम्म उनिहरुको अवस्था सार्वजनिक हुन सकेको छैन ।
उनिहरुको जन्मनगरीको उनिहरुकोको सम्झनामा बिभिन्न कार्यक्रमहरु हुन थालेकाछन् । उनिहरुको योगदानको कदर र सम्झने एउटा माध्यमको रुपमा कार्यक्रमहरु महत्वपुर्ण बन्दै गएकाछन् ।
पुष्प-धीरेन्द्र प्रतिष्ठान आयोजनामा दमकको भृकुटी आधारभुत बिद्यालय को परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । सोहि क्रममा नेकपाका नेता रमेश गुरागाइले राख्नु भएको भनाइले सबैलाइ स्तब्ध बनायो । धेरैका आँखामा टिलपिल आँशु झरायो । यस्तो थियो पोखरेलको दुइ योद्धाको सम्झना
पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित वृक्षरोपण कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यू र उपस्थित सम्पूर्ण महानुभावहरु,
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना एक युगान्तकारी घटना थियो । निरंकुश शासनको अन्त्य, देश र जनताको मुक्तिका लागि पार्टी स्थापनाको पहल र नेतृत्व गर्ने संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० वर्षअघि आजैका दिन निधन भएको होे । उहाँको स्मृतिमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम सान्दर्भिक छ । अझ पुष्प बस्नेत र धिरेन्द्र बस्नेत (जसले पुष्पलालको विचारको अनुशरण गर्दै जनयुद्धमा आफ्नो प्राण उत्सर्ग गरे) को नाममा स्थापित संस्थाले नै यो कार्यक्रम गर्नु झन् सान्दर्भिक छ । पुष्प र धिरेन्द्रको गृह वडामा पर्ने र धिरेन्द्रले अध्ययन समेत गरेको विद्यालयमा वृक्षरोपण गर्नुले यो कार्यक्रमको महत्व अझ बढाएको छ ।
धिरेन्द्रले थोरै उमेरमा धेरै काम गर्नुभयो । २० वर्ष बाँचेका मान्छे करिब डेढ वर्ष त जेल र हिरासतमै बिताउनुपरेको थियो । पार्टी संगठनको काम र संघर्षमा पनि नेतृत्वकारी भूमिका खेलेका धिरेन्द्र धेरै मेधावी, विलक्षण र प्रतिभावान हुनुहुन्थ्यो । उहाँ कक्षामा पनि पढाइमा अब्बल, सँधै फस्ट हुने । फस्ट त हामी र अरु पनि हुन्थ्यौँ तर उहाँ ज्यादै हाइ अंक ल्याएर फस्ट हुने ।
पढ्ने बेला र परीक्षाका बेलामा भूमिगत राजनीति र जोखिमपूर्ण संघर्षको अगुवाइ गर्ने व्यक्ति विद्यालयका परीक्षामा सँधै उच्च अंकका साथ कसरी पहिलो हुन सक्छ ? उहाँको उत्तर हुन्थ्यो, दर्शन, इतिहास र समाजको यति धेरै विस्तृत अध्ययन गरेपछि कक्षाका पाठ्यपुस्तक त केही होइनन् । यसरी पढ्नलेख्न नजान्ने मान्छे राजनीतिमा लाग्ने वा राजनीतिमा लागेपछि धेरै मेहनत गर्नुपर्दैन भन्ने गलत बुझाइलाई उहाँले राम्रैसँग चिरिदिनुभयो ।
राजनीतिमा धेरै मेहनत पर्छ र धेरै जान्ने होइन्छ भनेर प्रमाणित गर्नुभयो । उहाँको अध्ययन क्षमता राम्रो थियो । सानै उमेरमा त्यति धेरै पढ्ने, संघर्षमा पनि खह्रो व्यक्ति लेनिन जस्तै हो । हामी प्रशंसक थियौँ । उहाँसँँगै काम गरेका र जेल बसेका नेताहरुले यस्तै अनुभूति गर्नुभएको छ । त्यति सानो उमेरमा यति धेरै काम, अझ हामी धेरैलाई थाहा नहुन सक्छ, उहाँले यही विद्यालयमा अध्यापन पनि गरेको हो ।
पुष्पसँग त म अझ नजिक हो । हामी एउटै कक्षामा पढ्थ्यौँ । म फस्ट र उहाँ सेकेण्ड पनि भयौँ । धरानमा आइएस्सी पनि सँगै एउटै रुममेट भएर पढयौँ । आन्दोलनमा पनि सँगसँगै हो । त्यति मात्र होइन, तत्कालिन राज्यद्वारा गिरफ्तार गरेपछि पनि अन्तिममा हामी सँगै थियौँ । सायद आन्दोलनमा हरेक कोटा चुक्ता गर्नैपर्छ । हाम्रो जिम्मेवारी जेलको कोटा पुरा गर्ने रहेछ, उहाँ बेपत्ता । पुष्प र धिरेन्द्र दुवै राज्यको बेपत्ता सूचीमा भएको र थप स्पष्ट नभएका कारण उहाँहरुलाई हामी बेपत्ता भन्छौं । तर, शब्द उच्चारण गर्न कठिन हुन्छ, उहाँहरु मारिनुभयो । उहाँहरुले उच्च शहादत प्राप्त गर्नुभयो । त्यसैले यो कार्यक्रमलाई पुष्पलालको सम्झना र सम्मानसँग जोड्नु राम्रो भएको छ ।
अहिले पुष्पलालले स्थापना गर्नुभएको पार्टी विभाजित अवस्थापछि मूल रुपमा एकढिक्का भई नेकपा बनेको छ । यसबेला पुष्पलालको निरन्तर क्रान्तिको बाटो हामीले अवलम्बन गर्नैपर्छ ।










