काठमाडौं : असोज १९ गतेदेखि एकल प्रदर्शनमा आएको ‘निर्जला’ले दर्शकको साथ पाएको छ । राजु गिरीको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार देशभरका हलमा औसतभन्दा माथिको व्यापार गरेको निर्माता प्रकाशचन्द्र न्यौपानेले बताए ।
दोस्रो दिन शनिबार सबै हल हाउस फुल भएको निर्देशक गिरीले बताए । ‘हलबाट दर्शक रुँदै निस्केका छन्’, निर्देशक गिरी भन्छन्, ‘हामीले सोचेको भन्दा राम्रो प्रतिक्रिया छ ।’ फिल्मको रिपोर्ट बुझ्न शनिबार निर्माता प्रकाशचन्द्र, निर्देशक राजु, अभिनेता किशोर खतिवडा, अभिनेत्री शुभेच्छा थापालगायतको ‘निर्जला’ टिम राजधानीका हलहरूमा पुगेका थिए । हलमा उनीहरूलाई दर्शकले घेरेर अटोग्राफ, सेल्फी लिनुका साथै फिल्म राम्रो लागेको भन्दै खुसी प्रकट गरेका थिए ।
‘दर्शकको प्रतिक्रिया र व्यापारप्रति निकै खुसी लागेको छ’, प्रकाशचन्द्रले भने,‘दर्शकले फिल्म मन पराएका छन् । व्यापार निकै राम्रो भइरहेको छ । यो फिल्मबाट पाएको खुसीले अर्काे फिल्म निर्माण गर्ने हौसला मिलेको छ ।’ फिल्ममा समावेश दसैं गीत, भाले मोटर र शीर्ष गीत दर्शकले मन पराएको उनले बताए ।
दसैंको छेको प्रदर्शन गरिएको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, शूरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । रवि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन् । फिल्मका गीतमा बाबुल गिरीको संगीत र स्वर छ ।



